काठमाडौं । चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाले आफ्नो सङ्गठन सातै प्रदेशका ७७ जिल्लामा विस्तार गर्ने योजना बनाएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । सातै प्रदेशमा समाजवादी मोर्चा विस्तार गरिने कार्यक्रम रहेको छ ।
समाजवादी मोर्चाले आगामी साउन १२ देखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्ने भएको उपाध्यक्ष पाण्डेले बताए । उनका अनुसार केन्द्रमा चारवटै पार्टीबाट बढीमा पाँच/पाँच जनासम्म र प्रदेशमा तीन÷तीन तथा जिल्लामा दई/दुई जना चारवटै पार्टीबाट समेटिनेगरी मोर्चा बनाइनेछ ।
उनले भने, “मोर्चाको नेतृत्व चार/चार महिनामा परिवर्तन हुनेछ, साउन १२ गतेदेखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्नेछौँ ।” हालै गठन भएको सो मोर्चाको नेतृत्व हाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गर्दै आएका छन् ।