काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको ज्यालावृद्धिको माग गर्दै पदयात्रा गरेको छ ।
संस्थाका महासचिव अजयकुमार राईले मूल्यवृद्धिका कारण श्रमिकले खाइपाइ आएको तलबले परिवार पाल्नसमेत समस्या भएकाले तिनको ज्यालावृद्धिको माग गर्दै दबाबमूलक कार्यक्रम गरिएको जानकारी दिए । उक्त संस्थाको आयोजनामा आइतबार श्रमिकलाई जिउन पुग्नेगरी ज्यालावृद्धि हुनुपर्ने माग गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म पदयात्रा गरिएकोे हो ।
“श्रमिकको न्यूनतम पारिश्रमिक कम्तिमा १५ हजारबाट बढाएर रु. २५ हजार पु¥याउनुपर्छ भन्ने हाम्रो माग हो,”– उनले भने । यसअघि संस्थाले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन माग गर्दै ७७ वटै प्रमुख जिल्ला अधिकारीमार्फत श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको छ । यस्तै सातवटै प्रदेश सरकारलाई समेत श्रमिकको ज्याला बढाउन माग गर्दै ज्ञापनपत्र बुझाइसकिएको महासचिव राईले बताए ।
श्रमिकको न्यूनतम पारिश्रमिक रु. २५ हजार कायम गर, श्रम आयोग गठन गर, नीति, निर्माण तहमा श्रमिकको प्रतिनिधित्वको व्यवस्था गर, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागू गर, स्थानीय तहमा श्रमिकको पञ्जीकरण गर लगायतका प्लेकार्ड र व्यानरसहित पदयात्रामा नारा लगाइएको थियो ।