काठमाडौं । लक्ष्मी क्यापिटल लिमिटेडले यसै साताबाट म्युचुअल फन्ड जारी गर्ने भएको छ । कम्पनीले लक्ष्मी भ्यालु फन्ड–२ निष्काशन गर्न लागेको हो । कम्पनीका अनुसार प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको आठ करोड इकाइ बिक्रीमा ल्याउन लागिएको हो । निष्काशन गरिने कुल इकाइमध्ये कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत वा एक करोड २० लाख इकाइ कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरी बाँकी रहेको आठ करोड ८० लाख इकाइ सर्वसाधरणमा बिक्री हुने बताइएको छ ।
कम्पनीका अनुसार फन्डको इकाइका लागि साउन चार गतेदेखि आवेदन दिन सकिने छ । उक्त फन्डमा न्यूनतम एक सय इकाइका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ८० लाख इकाइसम्म आवेदन दिन सकिने छ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सो फन्डको इकाइमा साउन नौ गतेसम्म आवेदन दिन सकिने छ । सो समयमा पर्याप्त आवेदन नपरेको खण्डमा साउन १९ गतेसम्म आवेदन म्याद थप गर्न सकिने छ । बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् चार करोड इकाइ खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिने बताइएको छ ।