काठमाडौं । नेपाल उद्योग परिसंघले जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुला गर्न सरकारसँग आग्रह गरेको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग भेटी पीपीए खुल्ला गर्न माग गरेको हो ।
परिसंघका अध्यक्ष अग्रवालले प्रधानमन्त्रीको हालै भएको भारत भ्रमणका क्रममा भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत् आयोजनाको पीपीए पूर्णरूपमा खुला गरी निर्माणको वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । यस्तै, नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना गर्न, प्रसारणलाइन निर्माण तथा विद्युत् व्यापारमा निजी क्षेत्रको संलग्नता गराउन उनले आग्रह गरेका थिए । विद्युत् निर्यात हुँदै गर्दा स्वदेशमै रहेका उद्योगहरूले सहजरूपमा विद्युत् नपाइरहेको र यसले उद्योगको उत्पादन लागत बढाउन सहयोग गरेको उनले बताए ।
सो अवसरमा मन्त्री बस्नेतले समग्र ऊर्जाको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताए । उनले हालकै लागतमा १० हजार मेगावाट उत्पादन गर्न २० खर्ब बराबर लगानी आवश्यक पर्ने र त्यसले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने बताए । समग्र ऊर्जा क्षेत्रको विकासका लागि ‘ऊर्जा दशक’ घोषणा गरी अगाडि बढ्न गृहकार्य गरिरहेको उनले जानकारी दिए ।