सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि स्वचालित प्रणाली लागू गरेको हो । मन्त्रालयका सचिव एवं निगम सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले उपभोक्ताको हितलाई ध्यान दिएर पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरिएको बताए ।
निगमको सञ्चालक समितिको बैठकको निर्णय सार्वजनिक गर्न उद्योग मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव मरासिनीले निगमको निर्णयबाट जनता र व्यवसायीलाई सहुलियत मिल्ने विश्वास व्यक्त गरे । तर, यो प्रणाली हवाई इन्धनको हकमा लागू हुने छैन । भारतीय आयल कर्पोरेसनबाट अंग्रेजी महिनाको १ र १६ तारिखमा प्राप्त हुने मूल्यका आधारमा नेपालमा मूल्य निर्धारण हुनेछ ।
सचिव मरासिनीले खाना पकाउने एलपी ग्यासमा कुनै पनि मुनाफा नराखिएको जानकारी दिए । अहिलेसम्म एलपी ग्यासमा प्रतिसिलिन्डर १० रुपैयाँ मुनाफा थियो । तर, डिजेलमा दुई प्रतिशत र पेट्रोलमा दुई दशमलव पाँच प्रतिशत नाफा राखेर बिक्री मूल्य निर्धारण गर्ने भएको छ ।
सो अवसरमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमको ऋण दायित्व हुँदाहुँदै पनि उपभोक्ताको हितलाई ध्यान दिएर स्वचालित मूल्य प्रणाली लागू गरिएको बताए ।
स्वचालित प्रणालीअनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ र डिजेलमा चार रुपैयाँ मूल्य घटाएको छ । यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १० घटाएको छ । मूल्य घटाएपछि काठमाडौं उपत्यकामा पेट्रोलको प्रतिलिटर मूल्य एक सय ६४ रुपैयाँ र डिजेलको एक सय ४६ रुपैयाँ कायम भएको छ । अन्य स्थानमा क्षेत्रअनुसार मूल्य फरक–फरक पर्ने निगमले जनाएको छ । यस्तै एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य एक हजार सात सय ९० रुपैयाँ कायम भएको छ ।
भारतीय आयल कर्पोरेसनलाई नेपाल आयल निगमले ३१ अर्ब रुपैयाँँ बक्यौता रकम भुक्तानी गरेपछि निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरेको हो । निगमले अझै पनि नेपाल सरकारलाई तिर्न बाँकी तीन अर्ब ५० करोड रुपैयाँसहित २९ अर्ब ऋण दायित्व रहेको जनाएको छ ।