काठमाडौं, वैशाख १५
कोरोना भाइरस कोभिड–१९ को जोखिम कायम रहेको भन्दै सरकारले लकडाउनको अवधि आगामी वैशाख २५ गते राति १२ बजेसम्मका लागि थप गरेको छ । लाकडाउन आज सोमबार राति १२ बजेदेखि सकिँदै थियो । लकडाउनको पूर्वघोषित मिति सकिनु अघिल्लो दिन आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दश दिन थप गर्दै वैशाख २५ गते राति १२ बजेसम्मका लागि पु-याएको सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
अन्तर्राष्ट्रिय सीमा नाकाहरूबाट आवागमन गर्न वैशाख ३१ बुधबार मध्यरातिसम्म बढाइएको छ । ‘बाह्य जगत्बाट कोरोना सङ्क्रमण जोखिम नरहोस् भन्नका लागि अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन यही वैशाख ३१ गते मध्यरातिसम्म गर्ने निर्णय भएको हो’, मन्त्री डा. खतिवडाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एक हप्ता बन्दाबन्दी थप्न सरकारलाई सुझाव दिएको थियो । विकास निर्माणको काम र साना व्यवसायलाई सहज बनाउनुपर्ने माग उठेको बेला सरकारले लकडाउनलाई वैशाख २५ गतेसम्मका लागि बढाएको हो । सरकारले विकास निर्माणको कामलाई बाधा नपर्ने गरी पास उपलब्ध गराएको भन्दै सर्वसाधारणको आवतजावतलाई थप कडा बनाउने निर्णय गरेको हो । आज सोमबारदेखि लकडाउन खुल्ने अपेक्षा गर्दै नागरिकहरुले योजनाहरु बनाउँदै गर्दा सरकारले २५ गतेसम्म लकडाउन जारी रहने निर्णय गरिदिएका कारण सबैका योजनाहरु भताभुंग भएका छन् ।
काठमाडौं, उपत्यका मध्यपहाडी क्षेत्रका जिल्ला र हिमाली जिल्लामा लकडाउन खुकुलो गर्नुपर्ने आवाज उठेको थियो । तर, मन्त्रिपरिषद् बैठकले त्यसलाई बेवास्ता गर्दै लकडाउनलाई बढाउने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा गत बिहीबारदेखि नै एक जना पनि कोरोना संक्रमित छैनन् । गत बिहीबार अस्पतालबाट डिस्चार्ज भएसँगै काठमाडौंका अस्पतालमा पनि कोरोना संक्रमित नभएका हुन् ।
सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि लकडाउन सुरु गरेको थियो । पहिलो पटक चैत १८ गतेसम्मका लागि लकडाउन गरिएको थियो । त्यसपछि दोस्रो चरणमा चैत २५ गतेसम्मका लागि बढाइएको थियो । तेस्रो पटक वैशाख ३ गतेसम्मका लागि लकडाउन थप गरिएको थियो भने चौथोपटक आज वैशाख १५ गतेसम्मका लागि थप गरिएको थियो । अब पाँचौँ पटक वैशाख २५ गतेसम्मका लागि लकडाउन बढाइएको छ । अझै कति पटक थप हुने निश्चित छैन । कोरोना संक्रमितको संख्या बढेमा अझै लकडाउन बढाउने सरकारी योजना छ । यो राजनीतिक मुद्दा नभएको कारण परिस्थिति हेरेर निर्णय गरिने सरकारले जनाएको छ ।
यसैगरी मन्त्रिपरिषद्को आजको बैठकले ईपीएसअन्तर्गत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ । मन्त्री डा. खतिवडाले भने, ‘दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजानका लागि अनुमति दिने निर्णय भएको छ ।’ कोरिया जान भाषा परीक्षा र अन्य परीक्षा उत्तीर्ण भएर भिसा लागेर बसेकाहरु सरकारी निर्णयको प्रतीक्षामा थिए । सरकारले कोरियामा कोरोना लागेको भन्दै नेपाली कामदार जान बन्द गरेपछि कोरियाले विरोध गरेको थियो । बन्द गरिरहँदा रोजगारी नै गुम्ने देखिएपछि सरकारले कोरिया जान खुल्ला गरेको हो ।
एकैदिन थप तीनमा कोरोना सङ्क्रमण, ५२ पुगे सङ्क्रमित १६ जना घर फर्किए
आइतबार एकैदिन थप तीन जनामा कोरोना संक्रमण भएको देखिएको छ । विराटनगरको कोशी अस्पतालमा परीक्षणका क्रममा झापाका ५० वर्षीय पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको समेत गरी संक्रमितको संख्या ५२ पुगेको हो । आइतबार भेटिएका सङ्क्रमित अस्पतालको सम्पर्कमा रहेका र उनीहरुको स्वास्थ्यस्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पर्साको वीरगञ्जका दुई जना पुरुषमा सङ्क्रमण देखिएको थियो । आइतबार देखिएका देखिएका तीन जनासँगै सङ्क्रमितको सङ्ख्या ५२ पुगेको हो । यसैगरी पूर्णरूपमा स्वस्थ भएर १६ जना घर फर्किएका छन् । आइतबार वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत थप चार जना सङ्क्रमित निको भएर घर फर्किएसँगै कोभिड–१९ सङ्क्रमितको उपचारपछि स्वस्थ भएर घर फर्किनेको सङ्ख्या १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार धौलागिरि अस्पतालमा उपचारत एक कोरोना सङ्क्रमित युवती स्वस्थ्य भएर घर पठाइएको थियो भने शनिबार राति भरतपुरमा उपचाररत २७ वर्षीय पुरुषको पनि उपचारपछि घर पठाइएको थियो ।
नेपालमा पहिलोपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका चीनबाट आएका एक व्यक्ति यसअघि नै घर फर्किसकेका छन् । कोभिड–१९ नेपालमा पहिलोपटक गत माघ ९ गते सङ्क्रमण देखिएको थियो । दोस्रो सङ्क्रमित चैत १० गते फेला परेको थियो । चैतको १० मा सङ्क्रमण देखिएपछि सरकारले भोलिपल्ट चैत ११ गते ‘लकडाउन’को घोषणा गरेको थियो । पछिल्लो पटक गत वैशाख २ को मन्त्रिपरिषद्ले आगामी १५ गतेसम्म ‘लकडाउन’लाई निरन्तरताको निर्णय गरेको थियो ।
यस्तै, हालसम्म कूल ५१ हजार ३ सय ६७ जनाको परीक्षण गरिएको छ । यसमध्ये पिसिआर प्रविधिबाट नौ हजार ९ सय ३१ र ¥यापिड डाइग्नोस्टिक टेष्ट प्रविधिबाट ४१ हजार ४ सय ३६ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा दुई हजार ९६ जनाको थप परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार प्रदेश नं १ मा कूल चार हजार ३०८ परीक्षण गरिएको छ । प्रदेश नं २ मा कुल पाँच हजार १ सय ४१, वाग्मती प्रदेशमा कूल सात हजार ५ सय ९१ परीक्षण गरिएको छ । त्यस्तै गण्डकी प्रदेशमा कूल चार हजार ९ सय २४, प्रदेश नं ५ मा तीन हजार ३ सय २६, कर्णाली प्रदेशमा चार हजार ९ सय ७४ र सुदूरपश्चिम प्रदेशमा कुल ११ हजार १ सय ७२ नमूना परीक्षण गरिएको छ । हालसम्म कूल १७ हजार २५ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै कुल१ सय १० जना आइसोलेसनमा छन् । तीमध्ये काठमाडौँ उपत्यकामा छ र बाहिर १०४ रहेका छन् ।