निक्षेपको ब्याजदर निर्धारणमा बैंकहरूले भद्र सहमति खारेज गरेपछि साउन महिनामा घट्ने अपेक्षाका बाबजुत केही बैंकले ब्याजदर बढाएका छन् । वित्तीय प्रणालीमा साढे चार खर्ब रुपैयाँभन्दा बढी अधिक तरलता रहेको र बैंकर्स संघले भद्र सहमति खारेज गरेर आफ्नो अनुकूल ब्याजदर निर्धारण गर्न स्वतन्त्र छाडेपछि सबै बैंकहरूले ब्याजदर घटाउने अपेक्षा गरिएको थियो । तर, एनएमबी बैंक, एनआईसी एसिया, प्राइम कमर्सियल, नबिल र कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् ।
असारमा सबै वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर नौ दशमलव ९९ प्रतिशत कायम राखेका थिए । ब्याजदर निर्धारणमा बैंकहरू स्वतन्त्र भएपछि पाँच वाणिज्य बैंकले ब्याजदर बढाएका छन्, छवटाले स्थिर राखेका छन् भने नौवटाले घटाएका छन् । आ–आफ्नो हैसियतमा ब्याजदर निर्धारण गर्न स्वतन्त्र भएपछि ब्याजदरमा विविधता देखिएको छ ।
राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले असारमा कायम ब्याजदरको तुलनामा साउनमा १० प्रतिशत बढाउन वा घटाउन सक्छन् । यस्तै, व्यक्तिगत मुद्दतीको तुलनामा संस्थागत मुद्दतीलाई दिने ब्याजदरको फरक दुई प्रतिशत हुनुपर्ने व्यवस्था छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर पाँच प्रतिशत विन्दुभन्दा बढी हुन नहुने व्यवस्था छ । यस्तै, बचतमा दिइने ब्याजदरको तल्लो सीमा र माथिल्लो सीमाबीचको अन्तर पनि दुई प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था छ । कुल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशतभन्दा बढी ब्याजदर कायम गर्न पाइँदैन ।
एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, एनआईसी एसिया र नबिल बैंकले अवधि र निक्षेपको प्रकृतिअनुसार ब्याजदर फरक–फरक कायम गरेका छन् । एनएमबी बैंकले १० वर्षमाथिको मुद्दती निक्षेपमा १० दशमलव ९८ प्रतिशत ब्याजदर दिने भएको छ । एनएमबी बैंकपछि एनआईसी एसियाले अधिकतम १० दशमलव ९३ प्रतिशत ब्याजदर घोषणा गरेको छ । यस्तै, प्राइम कमर्सियल बैंकले १० दशमलव ९३ प्रतिशत ब्याजदर दिँदा नबिलले अधिकतम १० दशमलव ४९ प्रतिशत दिने भएको छ । कुमारी बैंकले भने असारमा भन्दा थोरै बढाएर अधिकतम १० दशमलव शून्य १ प्रतिशतसम्म ब्याज दिने भएको छ ।
व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राख्ने बैंकहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, नेपाल एसबीआई, हिमालयन, सिटिजन्स बैंक इन्टरनेसनल रहेका छन् । यी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर नौ दशमलव ९९ प्रतिशत नै कायम राखेका छन् । सानिमा, कृषि विकास, एभरेष्ट, प्रभु, सिद्धार्थ, माछापुच्छ«े, राष्ट्रिय वाणिज्य, नेपाल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले असारको तुलनामा मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले ब्याजदर घटाएको दर पनि फरक–फरक छ ।
सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदार नौ दशमलव ५२ प्रतिशतमा झारेको छ । यस्तै, कृषि विकास बैंकले नौ दशमलव ५१, एभरेष्टले नौ दशमलव पाँच, प्रभुले नौ दशमलव पाँच, सिद्धार्थले नौ दशमलव पाँच, माछापुच्छ«ेले नौ, राष्ट्रिय वाणिज्य बैंकले आठ दशमलव ९९, नेपाल बैंकले आठ दशमलव ९९ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले आठ दशमलव ९५ प्रतिशतमा झारेका छन् ।
बैंकहरूले यसअघि लगानीयोग्य रकमको अभाव भएपछि एक–आपसमा निक्षेपको तानातान हुने भन्दै ब्याजदरमा भद्र सहमति गरी कार्टेलिङ गर्दै आएका थिए । बैंकर्स संघले घटाउने निर्णय गर्दा घटाउने र बढाउने निर्णय गर्दा बढाउने गर्दै आएका थिए । त्यसो हुँदा सबै वाणिज्य बैंकहरूको ब्याजदरमा एकरूपता थियो । अहिले ब्याजदर निर्धारणमा स्वतन्त्र भएपछि बैंकहरूले निक्षेपको अवधि र प्रकृतिअनुसार ब्याजदर फरक–फरक निर्धारण गरेका हुन् ।