अमेरिका । सामाजिक सञ्जाल प्लेटफर्म ट्विटरले गत अक्टोबरयता आफ्नो विज्ञापन आयको झण्डै आधा हिस्सा गुमाएको छ । एलन मस्कले आफूले ४४ अर्ब डलरमा ट्विटर किनेपछि विज्ञापन आयको झण्डै आधा हिस्सा गुमाएको बताएका छन् ।
‘विज्ञापनबाट उठ्ने राजस्वमा ५० प्रतिशतको गिरावट र भारी ऋणभारका कारण हामी अझै पनि नकारात्मक नगद प्रवाहमा छौं’, ट्विटरका मालिक मस्कले शनिबार भने,‘हामीसँग अरू कुनै पनि चीजको विलासिता हुनुभन्दा पहिले सकारात्मक नगद प्रवाहमा पुग्न आवश्यक छ ।’
‘इन्साइडर इन्टेलिजेन्स’का अनुसार ट्विटरले सन् २०२३ मा तीन अर्ब डलरभन्दा कम आम्दानी गर्ने अनुमान गरिएको छ । जुन सन् २०२२ को तुलनामा एक तिहाइ कम हो ।
मस्कले ट्विटरमा कब्जा जमाएपछि गरेका परिवर्तनहरूले प्रयोगकर्ता र विज्ञापनदाताहरूलाई समान रूपमा बन्द गरिदिएको छ । मस्कले तथ्यांक चोरीको चरम स्तरलाई सम्बोधन गर्न भन्दै यस महिनाको सुरुमा ट्विटरको प्रमाणित अकाउन्टहरूबाट एक दिनमा १० हजार ट्विटहरू पढ्नको लागि सीमित अनुमति दिने घोषणा गरेका थिए ।
उनले निःशुल्क खाता प्रयोग गर्नेहरुले प्रति दिन एक हजार ट्विटहरु मात्र पढ्न सक्ने र नयाँ अपुष्ट अकाउन्ट भएका प्रयोगकर्ताले पाँच सय ट्विटहरू मात्र पढ्नसक्ने गरी सीमित गरिएको घोषणा गरेका थिए ।
अहिले ट्विटरको प्रतिद्वन्द्वीको रूपमा फेसबुकको अभिभावक मेटाले सुरु गरेको एप थ्रेड्सले पहिलो पाँच दिनमा १० करोडभन्दा बढी प्रयोगकर्ता दर्ता गरेपछि यो परिवर्तन आएको हो । यस वर्षको सुरुमा ‘ओपन एआई’ले बनाएको कृतिम बौद्धिकता ‘एआई’ एप च्याटजीपीटीलाई सक्रिय प्रयोगकर्ताको संख्यासम्म पुग्न दुई महिना लागेको थियो ।