काठमाडौं । आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ । सोमबारदेखि लागू हुनेगरी मूल्य अभिवृद्धि कर उठाउने नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको हो ।
“सरकारबाट बजेट वक्तव्यमार्फत अनिवार्य गरेको उक्त व्यवस्था अनुसार यस सङ्घमा आवद्ध सम्पूर्ण वायुसेवा कम्पनीले सोमबारदेखि लागू हुने गरी हवाई भाडा दरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाइने व्यहोरा जानकारी गराइन्छ”, विज्ञप्तिमा भनिएको छ ।
मूल्य अभिवृद्धि कर लागु हुनुभन्दा पहिला काटिएको हवाई टिकटमा लागू भएपछि यात्रा गर्दा पनि भ्याट असुल गरिने छैन । बिक्री भएको हवाई टिकट रद्द भई यात्रुले फिर्ता पाउने अवस्थामा बिक्री फिर्ताको हिसाब देखाएर मिलान गर्न सकिने विभागले जनाएको छ ।
एयरलाइन्सले मूल्य अभिवृद्धि कर उठाएसँगै आन्तरिक उडानको हवाई भाडा केही वृद्धि हुने एयरलाइन्सले जनाएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आन्तरिक उडानको हवाई भाडा ६ प्रतिशतसम्म बढ्नेछ । “इन्धन र विमानस्थल कर पनि भ्याटसहितको लिने गरिएको छ, यसमा थप अतिरिक्त शुल्क लाग्दैन”, प्रवक्ता बर्तौलाले भने ।