काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ । नेपाली कांग्रेस गौरीशंकर गाउँपालिकाका सभापतिसमेत रहेका तामाङको आइतबार दिउँसो गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचारका क्रममा निधन भएको हो ।
बिहीबार पेट दुख्ने र पखला लाग्ने समस्या भएपछि उनलाई भक्तपुरको मध्यपुर थिमि अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मुटुमा समस्या देखिएपछि अस्पतालले तामाङलाई शनिबार गंगालालमा रिफर गरेको थियो । उनको हृदयघातका कारण निधन भएको चिकित्सकले जनाएका छन् ।
श्वासप्रश्वासमा समस्या र मुटुको धड्कन अस्वाभाविक भएपछि आइतबार मुटुको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि भने उनको स्वास्थ्यावस्था झनै खराब भएर आएको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै उनको परिवारका सदस्यहरूले बताए ।
तमाङले लामो समयदेखी उच्च रक्तचापको औषधिसमेत नियमित सेवन गर्दै आएका थिए । मृतक तामाङकी श्रीमती, एक छोरा र एक छोरी छन् । तामाङको शवलाई आइतबार बौद्धस्थित तामाङ गुम्बामा राख्ने र बौद्ध विधिअनुसार अन्त्येष्टि गरिने बताइएको छ ।