गत आर्थिक वर्ष २०७९/८० मा ३८ अर्ब रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । यो अवधिमा विदेशी लगानीकर्ताले १३ अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन् । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष कुल ३८ अर्ब ४० करोड ७५ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो लगानी प्रतिबद्धता तीन सय २७ वटा उद्योग स्थापना गर्नका लागि आएको हो । जसमा दुई सय ९७ वटा साना, २५ वटा मझौला र पाँचवटा ठूला उद्योग स्थापना हुनेछन् । यी सबै उद्योगमा कुल १७ हजार १२ जनालाई रोजगारी प्रतिबद्धतासहित लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा मासिक चारदेखि आठ अर्ब रुपैयाँको बीचमा विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएकोे छ । विदेशी लगानीकर्ताहरूका लागि कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक गरी छ प्रकारका उद्योग दर्ता गर्न पाउने व्यवस्था रहेको विभागले जनाएको छ । सोहीअनुरूप उनीहरूले लगानी ल्याउने तथा उद्योग दर्ता गराउने गरेको विभागकी सूचना अधिकारी रमिला भण्डारीले बताइन् ।
उनले आर्थिक वर्षको अन्तिम महिना असारमा तीन अर्ब ७१ करोड रुपैयाँ र जेठमा चार अर्ब ९६ करोड रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता आएको बताइन् । असारमा ५२ वटा साना र दुईवटा मझौला गरी ५४ वटा र जेठमा ५६ वटा साना र एउटा ठूला गरी ५७ वटा उद्योग दर्ताका लागि लगानी प्रतिबद्धता आएको भण्डारीले बताइन् ।
विदेशी लगानीकर्ता उद्योग स्थापना तथा लगानी गर्नका लागि आफैँ नेपाल आउनुका साथै नेपालमा रहेका प्रतिनिधिहरूमार्फत लगानी प्रस्ताव ल्याउने, उद्योग स्थापना तथा सञ्चालन गर्ने, लाभांश लैजानेलगायतका कामहरू गर्दै आएको पाइन्छ । लगानीकर्ताको सहजताको लागि सरकारले विभिन्न प्रकारको भिसा उपलब्ध गराउँदै आएको छ । समीक्षा अवधिमा व्यावसायिक भिसास्वरूप लगानीकर्तालाई एक हजार आठ सय नौवटा, प्रतिनिधिलाई दुई सय ८५ र ‘डिपेन्डेन्ट’ सात सय ७० वटा भिसा प्रदान गरेको छ । असारमा मात्र लगानीकर्तालाई दुई सय सातवटा, प्रतिनिधिलाई ३० वटा र डिपेन्डेन्ट ७३ वटा भिसा प्रदान गरेको छ ।
यस्तै, आर्थिक वर्ष २०७९÷८० मा ७४ वटा उद्योगको लागि १६ अर्ब २४ करोड ९३ लाख रुपैयाँबराबरको सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) भएको विभागले जनाएको छ । असारमा आठवटा उद्योगको लागि ८६ करोड ५६ लाख रुपैयाँबराबरको सेयर एसपीए र एसएसए तथा जेठ महिनामा सातवटा उद्योगको लागि सात करोड ३१ लाख रुपैयाँबराबरको एसपीए र एसएसए भएको थियो । नेपालमा सबैभन्दा बढी लगानी गर्ने मुलुकहरूमा भारत, चीन, सेन्ट किट्स एन्ड नेभिज र आएरल्यान्ड रहेका छन् । यसका साथै सिंगापुर, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, अमेरिका, बंगलादेश गरी ५२ भन्दा बढी मुलुक रहेको विभागले जनाएको छ ।
उद्योग तथा व्यवसायमा लगानी गरेसँगै उनीहरूले लाभांश लैजाने गरेका छन् । आर्थिक वर्ष २०७९÷८० मा लाभांशबापत १३ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ उनीहरूले नेपालबाट लगेका छन् । असारमा मात्र लाभांशबापत एक करोड ९२ लाख रुपैयाँ र जेठमा तीन करोड २४ लाख ३२ हजार रुपैयाँ बाहिरिएको छ ।विदेशी लगानीकर्ताले लगानीका लागि सम्भावना भएकोे मुलुकको रूपमा नहेरे पनि सरकारले प्रदान गरेको केही सुविधाका कारण लगानी प्रतिबद्धता आउनेगरेको विभागले जनाएको छ । हरेक महिना लगानी पनि आएको छ र लगानीअनुरूपको प्रतिफल अर्थात् लाभांश पनि लैजाने क्रमले निरन्तरता पाइरहेको विभागकी सूचना अधिकारी भण्डारीले बताइन् । विदेशी लगानीकर्ताहरूले लगानी रकम भित्र्याउन अर्थात् लेखांकन, लाभांश लैजाने काम भने राष्ट्र बैंकमार्फत गर्नुपर्छ । सोहीअनुरूप उनीहरूले राष्ट्र बैंकमार्फत लगानी ल्याउने र लैजाने काम भइरहेको उनको भनाइ छ ।
विदेशी लगानीकर्ताले धेरैजसो लाभांश सञ्चार, उत्पादन, खानी, उत्खनन क्षेत्रबाट लगेको पाइन्छ । त्यसपछि, विद्युत्, ग्यास, पानी, निर्माण, यातायात, भण्डारण, वित्तीय क्षेत्र, होटल तथा रेष्टुरेन्ट र शिक्षालगायतका क्षेत्रबाट समेत लाभांश लैजाने गरेका छन् । विदेशी लगानीकर्तालाई ‘प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५’ले नेपालमा रहेका उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानी भित्र्याउने एक जना विदेशी लगानीकर्तालाई न्यूनतम सीमा पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० देखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला उद्योग विभागले दर्ता गर्छ ।