नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिमिटेडका डीसीईओ महेश शर्मा ढकालविरुद्ध महिला हिंसाको उजुरी परेको छ । नेपाल इन्भेष्टमेन्ट मेघा बैंककी ऋणी एक व्यवसायी महिलाले डीसीईओ ढकालले बैंकमा रहेको कार्यकक्षमै आफूमाथि महिला हिंसा गरेको उजुरी गरेकी हुन् । पीडित महिलाले गत असार ३ गते राष्ट्रिय महिला आयोगमा उजुरी दर्ता गराएकी छिन् ।
उक्त बैंककी ऋणी ती महिलाले बैंक मर्जअघि स्वीकृत कर्जा प्रवाहको कुरा गर्न बैंकको उत्तरढोकामा रहेको शाखामा कुरा गर्न जाँदा डीसीईओ शर्माले गत चैत्र २९ गते दिउँसो गलत मनसायले आफूमाथि अभद्र व्यवहार गरेको भनी उजुरी दिएकी हुन् ।उनले उजुरीमा उल्लेख गरेकी छिन्, ‘साबिक नेपाल इन्भेष्टमेन्ट बैंकबाट मैले ताकिन्जो इन्डस्ट्रिज प्रालि, डाइमी ट्रेडिङ प्रालि र हामीनिट इन्डस्ट्रिज प्रालि नामक कम्पनी सञ्चालन गरी आई उक्त बैंकबाट कारोबार गरी मेरो व्यवसाय गरी आएकोमा साबिक इन्भेष्टमेन्ट बैंकसँग करिब ६५ करोड रुपैयाँबराबरको कारोबार रहेको छ ।
मैले सञ्चालन गरी आएको कम्पनीको कारोबारलगायत मेरो कर्जा नियमित गर्दै आएको छु’, उनले उजुरीमा अगाडि भनेकी छिन्, ‘नेपाल इन्भेष्टमेन्ट बैंकबाट पहिलो पटक आठ करोड ७८ लाख ९५ हजार रुपैयाँ सामान निर्यात गर्ने प्रयोजनको लागि र सोपश्चात् चार करोड स्थिर सम्पत्तिमा खरिद लगानी गर्ने प्रयोजनको लागि ऋण स्वीकृतपश्चात् नेपाल इन्भेष्टमेन्ट बैंक र मेघा बैंक मर्जरको प्रक्रियामा रहेको कारण कर्जा प्रवाह भने भएको थिएन ।’ उल्लिखित दुवै बैंकहरू एक–आपसमा मर्ज भएपछि विपक्षी अन्यायीवाला महेश शर्मा ढकाल नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत भएर आएकाले निजलाई सम्पर्क गरी भएको व्यहोरा अवगत गराउने विचार राखी निजलाई कार्यकक्षमा प्रवेश गर्दाको अवस्थामा तपाईँ मसँग सम्पर्कमा रहिरहनुहोला भनी आश्वासन दिएको हुँदा निजको विश्वासनमा परी मिति २०७९÷१२÷२९ गतेको दिन अन्दाजी २ बजेको समयमा निजको कार्यकक्षमा जाँदा तपाईँको कर्जा चाँडै स्वीकृत हुँदै छ त्यसको लागि मैले भनेको काम गर्नु पर्दछ भनी म बसेको ठाउँमा नजिक आई गलत मनसायले अभद्र व्यवहार गरेकोले किन यस्तो प्रकारको कार्य गर्न खोज्नुभएको हो, यस्तो गलत कार्य नगर्नुहोस् ।
तपाईँजस्तो ओहोदामा बसेको व्याक्तिले अनैतिक व्यवहार गर्न मिल्दैन भनी भन्दा मैले भनेको नमानेमा तिम्रो काम हुँदैन, हामीसँग सम्पर्क नबढाएमा अर्थात् हामीले बोलाएको स्थानमा नआई हामीले भनेको नमानेमा जे पनि हुनसक्छ भनी धम्कीपूर्ण भाषा प्रयोग गरी गालीगलौज समेत गरी अभद्र व्यवहार गरेको भएको हुँदा विपक्षी महेश शर्मा ढकाललाई पक्राउ गरी कानुुनबमोजिम कारबाही गरी हदैसम्मको सजाय गरीपाऊँ ।’
बैंकका सञ्चालक गोपाल खनालनिकट ती महिला व्यवसायीले आयोगमा उजुरी दिएपछि बैंकका डीसीईओ महेश शर्मा ढकालसँग सम्पर्क गर्दा यसबारेमा बैंकको सीईओ ज्योति पाण्डेसँग सम्पर्क गर्नू भनेर जवाफ दिएका छन् । तपाईँले अभद्र व्यवहार गरेको भनिएको छ, सीईओ पाण्डेलाई कसरी थाहा हुन्छ र भन्दा उहाँलाई सबै थाहा छ, उहाँले नै जवाफ दिनुहुन्छ भनेर पन्छिए । त्यसपछि सीईओ पाण्डेसँग पटक–पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।