विराटनगर । लामो समयकोे प्रयासपछि रानी–जोगवनी नाकाबाट खुद्रा सामान ल्याउन कडाइ गरिएको हुँदा यसबाट विराटनगरका व्यापारीहरु खुसी भएका छन् । सीमा नाकामा विराटनगर महानगरपालिकाको समन्वयमा भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडाइ गरेका हुन् ।
नेपालबाट दैनिक सयौँ मानिस उपभोग्य वस्तुहरु दाल, चिनी, तेल, गेडागुडी, जिरा आदी सामान लिन भारतीय बजार जोगवनी जाने गर्दथे । भन्सार कार्यालयले जोगवनीबाट १ सय रुपैयाँ भन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने नियम लगाएको छ । त्यसकारण जोगवनी बजार गइरहेका नेपाली उपभोक्ताहरु सोमबारदेखि कम जान थालेका छन् ।
विगतमा दैनिक ६ देखि ७ करोड रुपैयाँसम्मको कारोबार हुने जोगवनी यो कडाइसँगै सुनसान बनेको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले स्थानीय बजार प्रवर्द्धन गर्न आवश्यक भएको भन्दै अहिलेको कडाई निरन्तर हुने दाबी गरेका छन् ।
‘विराटनगरको बजार सुक्दै अनि छिमेकी राष्ट्र भारत जोगबनीको बजार फस्टाउँदै गएकाले यहाँका उद्योगी, व्यवसायी तथा साना व्यापारी व्यवसायीलाई पनि राम्रो होस् भनेर यो अभियान चालेको हो,’ महानगर प्रमुख कोइरालाले भने ।
विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्दराज ढकालले अवैध तथा गैरकानुनी तवरबाट नेपाल प्रवेश गर्ने वस्तुले सरकारको राजस्व र स्वदेशी बजारमा नकारात्मक प्रभाव परिरहेको अवस्थामा महानगरपालिकाको सकारात्मक पहल स्वागतयोग्य रहेको बताए ।