काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको ६१औँ वार्षिकोत्सवलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकासका लागि भौतिक पूवार्धार निर्माण पहिलो सर्त भएको बताएका छन् । उनले समाजवादको आधार तयार पार्न पूर्वाधार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।
विकास बजेटको ठूलो हिस्सा असारमा खर्च हुने गरेको यथार्थ स्वीकार गर्दै उनले असारमा गरिएका विकास र निर्माण गरिएका पूर्वाधारमा मनसुनको बाढी र पहिराले क्षति पु-याउने बताए । आन्तरिक स्रोत साधन कम भएको नेपाल विकास बजेट चालु खर्चको तुलनामा न्यून रहेको उल्लेख गर्दै उनले न्यून बजेट पनि समयमा खर्च गर्न नसक्नु विडम्बना रहेको बताए ।
बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्ने प्रधानमन्त्री दाहालले बताए । उनले समयमै निर्माणको थालनी नहुने अवस्थाको समाधानका लागि कानुनी, संरचनागत र प्रक्रियागत समस्या र त्रुटिमा सहजीकरण गर्न सरकार तत्पर रहेको बताए ।
उनले भने, “विकासमा प्रत्यक्ष संलग्न इञ्जिनियरले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजना समयमा नै सुरु गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्ने विश्वास गरेको छु ।”
“विकासका लागि सरकारसँग स्रोत कम छ । त्यसैले निजी क्षेत्रको लगानी आवश्यक देखिएको छ । पूर्वाधारको क्षेत्रमा पनि वैदेशिक लगानी आउन सकोस्, राजस्व तथा लगानी पनि बढोस् र ठूला पूर्वाधारमा विदेशी लगानी पनि आओस्”, उनले भने ।
विकास र पूर्वाधार बिना आर्थिक उन्नति सम्भव नरहेको जनाउँदै उनले विकासका लागि सरकार, निजी क्षेत्र र वैदेशिक लगानी आवश्यक भएको बताए । विकासको गति तीव्र भएपछि नै मुलुकको आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गर्दै उनले आम नेपालीको मुहारमा खुसी ल्याउन वर्तमान सरकार लागि परेको बताए ।
वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालले बताए । उनले सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तीव्रताका साथ अगाडि बढाइरहेको उल्लेख गरे । “सरकारको यस अभियानमा जनसमुदायले देखाउनुभएको अपार समर्थन र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दछु”, उनले भने ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिले पूर्वाधार र प्राविधिकको युग भएको उल्लेख गर्दै पूर्वाधारको विकासबिना मुलुकको समृद्धिको कल्पना गर्न नसकिने बताए । “यो पुस्तामा पूर्वाधारको फराकिलो ‘ग्याप’ छ, कतिपय ठाउँमा अहिले पनि स्वास्थ्य चौकीसमेत छैन, केही प्रविधिको पछिल्लो विकसितरुपको प्रयोग गर्ने अवस्थामा पनि पुगेका छौँ”, उनले भने, “यी दुवै सन्दर्भलाई जोड्ने गरी पूर्वाधार र प्रविधिको विकासलाई आर्थिक उन्नतिको आधार बनाउनुपर्छ ।”
भौतिक पूर्वाधारलाई समृद्धिको आधारका रुपमा लिइएको जनाउँदै मन्त्री ज्वालाले विकासलाई जनमुखी, गुणस्तरीय र दिगो बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रधानमन्त्री दाहालले विभिन्न विधामा उत्कृष्ट इन्जिनियरलाई सम्मान गरेका थिए । अहिलकोे मुख्य आवश्यकता पूर्वाधार, सम्पर्क सञ्जाल, विद्युतीकरण रहेको उल्लेख गर्दै उनले न्यूनतम पूर्वाधारको विकाससँग अन्य विकासका ढोका खुल्ने बताए ।