काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन एक गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल दुई सय ३९ रुपैयाँमा आईपीओ निष्काशन गरेको हो । यसपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने बताएको छ ।
कम्पनीले आफ्नो जारी पुँजी तीन अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । सोमध्ये १० प्रतिशत अर्थात् नौ लाख ६० हजार कित्ता सेयर, प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यमा एक सय ३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल दुई सय ३९ रुपैयाँमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रहेका नेपाली नागरिकका लागि निष्काशन गर्नेछ । त्यसैगरी निष्काशन गरिने कुल सेयरको पाँच प्रतिशत अर्थात् चार लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि एक सय रुपैयाँ अंकित मूल्यमा एक सय ३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल दुई सय ३९ रुपैयाँका दरले र पाँच प्रतिशत अर्थात् चार लाख ८० हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँका दरले छुट्याएको बैंकले जनाएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन १ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम् २० हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले त्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्वबहन गर्न समक्ष रहेको औसतस्तरको सुरक्षित कम्पनीलाई जनाउँछ ।