धरान, वैशाख १५
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कोरोना भाइरसको उपचारका लागि छुट्टै कोभिड–१९ अस्पताल सञ्चालनमा आएको छ । कोरोना भाइरसको उपचार तथा रोकथामका लागि सञ्चालित सो अस्पतालमा १३ वटा आईसीयूसहितको भेन्टिलेटर सुविधा रहेको छ । पहिलो चरणमा सञ्चालनमा ल्याइएको १ सय शय्यासहितको ‘आइसोलेसन’ कोभिड– १९ अस्पतालको उद्घाटन गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कोरोनाको केन्द्रविन्दुका रुपमा रहेको प्रदेश १ मा कोरोना भाइरसको उपचार र रोकथामका लागि गम्भीर भएको बताए । ‘कोभिड– १९ लाई पराजित गर्न लकडाउनमा पालना गर्नुपर्ने अनुशासन पालना गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘सङ्क्रमितलाई उपचारको व्यवस्था गरेर तथा सङ्क्रमण विस्तार हुन नदिएर कोरोना भाइरसलाई पराजित गरिनुपर्छ ।’
प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बीपी प्रतिष्ठानमा एक हप्तामा १ सय बेडको अस्पताल तयार भएको उल्लेख गर्दै आवश्यक परेको अवस्थामा यहाँ थप ५ सय बेड तयारी गरिने जानकारी दिए । अत्याधुनिक सेवा सुविधाका साथ अस्पताल सञ्चालनमा आएको प्रतिष्ठानका प्रवक्ता डा. अशोक ऐरका अनुसार अस्पतालमा १३ वटा आईसीयूसहितको भेन्टिलेटर, छुट्टै एक्स–रे र अल्ट्रा साउन्डको सुविधासहित १०० शय्याको कोभिड– १९ अस्पताल सञ्चालनमा ल्याइएको हो ।
यसअघि कोरोनाको आशंकाका बिरामीहरुको थ्रोट स्वाब परीक्षण गर्न काठमाडौं पु-याउनुपर्ने अवस्था थियो । केही समयअगाडि सरकारले प्रदेश नम्बर १ को लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको परीक्षण गर्ने घोषणा गरेको थियो । प्रदेश नम्बर–१ मा कोरोना संक्रमणको दर सबैभन्दा बढिरहेको छ । प्रदेशमा हालसम्म ३० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
यसअघि कोरोना संक्रमित व्यक्तिहरूलाई प्रतिष्ठानले विराटनगरको कोरोना अस्पतालमा पठाउँदै आएको थियो । प्रतिष्ठानले कोरोनाको परीक्षण पनि यसअघि नै सुरू गरिसकेको थियो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र पीसीआर परीक्षण भइरहेको अवस्थामा पहिलोपटक प्रतिष्ठानले प्रयोगशालाबाट परीक्षण सुरू गरेको थियो । प्रतिष्ठानले छुट्टै कोरोना अस्पताल सञ्चालन गरेसँगै यसले प्रदेश–१ मा कोरोना संक्रमित बिरामीको चापलाई व्यवस्थापन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।