काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँच पार गरेर बाहिरिएको झण्डै एक सय किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरी हालसम्म छ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा राजश्व अनुसन्धान विभागले बुधबार चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।
मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत बरामद सुन काठमाडौं आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी गराएको हो । बुधबार राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।
विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका व्यक्तिको खोजी जारी छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । पक्राउ परेकाको पहिचान खुलाइएको छैन । विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि विहीबार बिहानसम्म थप चार जना पक्राउ गरिएको उनले बताए ।
सुन हङकङबाट आएको र भारततर्फ तस्करी गरेर लैजान लागिएको आशंका गरिएको छ । भन्सार विभाग र विमानस्थल भन्सार कार्यालयले भन्सार जाँच पास भएर सिनामंगल पुगेको सुनबारे अनविज्ञता प्रकट गरेको छ । विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सारबाट कटेको सुन समातिएकोबारे आफूलाई जानकारी नभएको बताएका छन् ।