काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँचपास अत्यन्त फितलो देखिएको छ । बुधबार विमानस्थलको भन्सार जाँचपासबाट बाहिरिएको करिब एक क्विन्टल सुन सिनामंगल क्षेत्रबाट समातिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रहरी स्रोतका अनुसार विमानस्थलको भन्सार कार्यालयले पत्ता लगाउन नसकेको सुन सुराकीको आधारमा राजस्व अनुसन्धान विभागले पक्राउ गरेको हो । नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा धेरै सुन हो । प्रहरी स्रोतका अनुसार समातिएको सुनअनुसार ८० केजीदेखि एक क्विन्टलसम्म रहेको अनुमान छ ।
भन्सार कार्यालयबाट बुधबार दिउँसै सुन बाहिरिएको खबरपछि राजस्व अनुसन्धान विभागले गरेको कारबाहीमा उक्त सुन सिनामंगल क्षेत्रबाट बरामद भएको हो । उक्त सुन हङकङबाट आएको बताइएको छ । स्कुटरको पाट्र्सको नाममा उक्त सुन नेपाल भित्रिएको बताइएको छ ।