काठमाडौं । सानिमा बैंकले दराजसँग सहकार्य गरेको छ । ‘दराज महाबचत योजनामा’ विशेष छुट दिनेसम्बन्धमा दुई पक्षबीच सहकार्यका लागि समझदारी भएको हो । बैंकका अनुसार यो योजना अवधिभर ग्राहकले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान तथा सेवा खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।
ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक हजार रूपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम एक हजार पाँच सय रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । छुट प्राप्त गर्न ग्राहकहरूले दराज एपमा भौचर संकलन गर्नुपर्ने बैंकको भनाइ छ ।
यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने बताइएको छ । छुट प्राप्त गर्न ग्राहकहरूले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गर्नुपर्ने हुन्छ । अनलाइन पेमेन्ट सेवा सुचारु गर्ने भिडियोसहितको प्रक्रिया सानिमा बैंकको आधिकारिक युट्युब च्यानलमा राखिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार यो योजना २०८० श्रावण ४ देखि श्रावण १४ गतेसम्म ११ दिनका लागि लागू हुनेछ । बंैकको देशका सातै प्रदेशमा एक सय ३२ वटा कार्यालय तथा एक सय २२ वटा एटीएम सञ्चालनमा रहेका छन् ।