भारत । भारतले युक्रेन संकट समाधानका निम्ति वार्ता कूटनीतिमा जोड दिएको छ । जारी युक्रेन द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै भारतले वार्ता कूटनीतिमा जोड दिएको हो । संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले संयुक्त राष्ट्र संघको वार्षिक साधारणसभामा भएको युक्रेन बहसमा जारी द्वन्द्वप्रति भारतको गहिरो चासो व्यक्त गर्दै शत्रुताको तत्काल अन्त्य गर्न र वार्ता तथा कूटनीतिमा फर्कन आग्रह गरे । उनले यो युद्धको युग नभई वार्ता र कूटनीतिको भएकाले त्यसकै माध्यमबाट संकटको निकास खोजिनुपर्नेमा जोड दिए ।
द्वन्द्वका कारण विशेषगरी महिला, बालबालिका र वृद्धवृद्धाहरूको ज्यान गएको, दुवै देशका जनता पीडामा परेका उल्लेख गर्दै संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधिले युक्रेनको अवस्थालाई लिएर भारत चिन्तित भएको बताए । उनले लाखौँ घरबारविहीन भएका, अधिकांश छिमेकी देशहरूमा शरण लिन बाध्य भएका, नागरिक पूर्वाधारमा भएका आक्रमणले परिस्थितिलाई अझ जटिल एवं चिन्ताजनक बनाएको बताए । उनले रुस–युक्रेन द्वन्द्वका कारण उत्पन्न हालैका घटनाक्रमप्रति भारत चिन्तित भएको बताउँदै शान्ति र स्थायित्वका निम्ति दुवै पक्षलाई वार्तामा बस्न आग्रह गरे ।
‘हामीले शत्रुताको तत्काल अन्त्य, वार्ता र कूटनीतिको मार्गमा तत्काल फर्कनका निम्ति सबै प्रयासहरू गर्न आग्रह गरेका छौँ । हामी सबैले सदस्यता लिने विश्वव्यापी व्यवस्था अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र संघको बडापत्र र क्षेत्रीय अखण्डताको सम्मानमा आधारित भएकाले सबै राज्यको सार्वभौमसत्ताको सम्मान हुनुपर्नेमा भारत दृढ छ’, उनले भने । रुस र युक्रेनबीच पुनः मैत्री कायम गर्दै उक्त क्षेत्रमा शान्ति कायम गर्न वार्ताको विकल्प नभएको भारतीय अवधारणा प्रस्तुत गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन र रुसका शीर्ष नेतालाई ‘यो युद्धको युग होइन’ भन्ने ख्याल गर्न भनेको बताए । शान्ति स्थापनाका निम्ति कूटनीतिका सबै माध्यम खुला राख्न आवश्यक भएको उनले बताए ।