चीन । चीनमा औद्योगिक उत्पादनमा झिनो सुधार आए पनि माग कमजोर हुँदा अर्थतन्त्रमा असर परेको छ । यसलाई कतिपयले चीनको अर्थतन्त्र ओरालो लागेको रूपमा हेरेका छन् । मे महिनामा न्युन खुद्रा व्यापार, निर्यातमा ह्रास र सुस्त औद्योगिक उत्पादन हुनुले चीनको अर्थतन्त्र निराशोन्मुख भएको संकेत गरेको छ ।
मे महिनामा चीनको खुद्रा बिक्री तीन दशमलव एक प्रतिशतले बढेको थियो जुन अप्रिलमा भन्दा निकै कम हो । अप्रिलमा खुद्रा व्यापारको वृद्धि १२ दशमलव सात प्रतिशत थियो ।
सन् २०२३ को पहिलो छ महिनामा सरकारी स्वामित्वका उद्योगहरूको लगानी आठ दशमलव एक प्रतिशतले बढे पनि निजी क्षेत्रको शून्य दशमलव दुई प्रतिशतले संकुचित भएको छ । यो तथ्यांकले निजी क्षेत्रको विश्वास गुमेको संकेत गर्छ ।
जुन महिनामा चीनको निर्यात १२ दशमलव चार प्रतिशतले घटेको छ । जुन तीन वर्षयताकै ठूलो गिरावट हो । आयात छ दशमलव आठ प्रतिशतले घटेको छ । विकसित देशहरूमा उच्च मुद्रास्फीति र भूराजनीतिक अवस्थाका कारण चीनको वैदेशिक व्यापारले वर्षको अन्त्यतिर समस्याको सामना गर्नुपर्ने परिस्थिति उत्पन्न हुनसक्छ ।
प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) पनि मे महिनासम्म पाँच दशमलव छ प्रतिशतले घटेको छ । एमएससीआई चाइना इन्डेक्सले चिनियाँ कम्पनीमा विदेशी लगानी छ प्रतिशतले घटेको देखाएको छ ।
चिनियाँ अर्थतन्त्रले जनसांख्यिक लाभांश लिन नसकेको देखिन्छ भने सरकारको ‘साझा समृद्धि’ नीति र उपभोग वृद्धि गर्ने प्रयासलाई कुल गार्हस्थ्य उत्पादनको करिब तीन सय ५० प्रतिशतको हाराहारीमा मुलुकको कुल ऋणको उच्च जोखिमका कारण अलपत्र परेको संरचनात्मक आर्थिक सुधार चुनातीपूर्ण देखिएको छ ।