कोरिया । उत्तर कोरियाको आणविक चुनौती र सैन्य सहायताबारे छलफल गर्न दक्षिण कोरिया, जापान र अमेरिकी नेताहरूको शिखर सम्मेलन अगस्ट महिनामा अमेरिकामा हुने भएको छ । सम्मेलनको मिति र स्थान घोषणा भईनसकेको कोरियन राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उत्तर कोरियाको बढ्दो आणविक चुनौतीको सामना गर्न सैन्य सहयोग बढाउने क्रममा यही अगष्टमा त्रिदेशीय शिखर वार्ता हुने दक्षिण कोरियाले जनाएको छ । सोल र वासिङ्गटनले दक्षिण कोरियाको राजधानीमा पहिलो आणविक परामर्शदात्री समूहको बैठक गरेको केही दिनपछि यो घोषणा भएको हो ।
उत्तर कोरिया र दक्षिण कोरियाबीचको सम्बन्ध सबैभन्दा खराब विन्दुमा पुगेको छ भने कूटनीतिक संवाद अवरुद्ध नै छ । उत्तर कोरियाली नेता किम जोङ उनले आणविक हतियार विकासलाई तीव्रता दिइरहेका छन् ।
दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलले आफ्नो पूर्वऔपनिवेशिक शक्ति जापानसँग पुराना मतभेद बिर्सेर नयाँ सम्बन्ध कायम गर्न खोजिरहेका छन् । गएको अप्रिलमा सोल र वासिङ्टनले यदि पोङ्याङले आणविक हतियार आफ्ना सहयोगीविरुद्ध प्रयोग गरेमा आणविक हतियारबाट नै जवाफ दिएर उनको शासन अन्त्य गर्ने चेतावनी दिएकबा थिए ।