काठमाडौँ । क्याथे प्यासिफिक एयरलाइन्सबाट काठमाडौँ आएको सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनिया नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । भन्सार विभागले करिब १ सय किलो सुनबारे छानबिन गर्न विमानस्थल भन्सार कार्यालयका दुईजना कर्मचारीलाई निलम्बन गरेको छ ।
भन्सार कार्यालयका कर्मचारीको संलग्नता छानबिन गर्न भन्सार विभागले छानबिन समिति बनाएको छ । भन्सारका जाँच पास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरिएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए ।
भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल नेतृत्वको टोलीले त्यसबारे छानबिन गरिरहेको छ । महानिर्देशक पौडेलले छानबिनका लागी भन्सार एजेन्ट यादव पराजुलीलाई पनि निलम्बन गरिएको बताए । उनले भने–‘दुई कर्मचारीसहित ३ जनालाई निलम्बन गरेका छौँ, थप छानबिन हुँदैछ ।’