जुम्ला । जुम्ला खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ । यहाँको डिपोमा एक हजार सात सय २१ क्विन्टल नुन रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिएका छन् ।
कार्यालय प्रमुख मल्लले भने,“ जिल्लामा नुनको अभाव हुने छैन । अबको केही सातापछि यहाँका आठवटै स्थानीय तहका वडाबाटै नुन वितरण गरिने छ । वडाको मागबमोजिम नुन वितरण गर्न कार्यालय लागिपरेको छ । ”
गत आवकै नुन समयमै वडामा ढुवानी नहुँदा सदरमुकाम डिपोमा नागरिकको भीड लाग्ने गरेको कार्यालयले जनाएको छ । गत असार ३१ गते कार्यालयको मुख्य डिपोबाट उपझोक्तालाई नुन वितरण भइरहेको समयमा केही व्यक्तिले भाडँभैलो गर्दै डिपोमा तोडफोड समेत गरेका थिए । यही साउन ३ गते प्रदेश कार्यालय नेपालगन्जबाट तीन सय २० क्विन्टल नुन आएको कार्यालय प्रमुख मल्लले बताए ।
वडामै नुन ल्याउनका लागि साल्ट ट्रेडिङसँग समन्वय भइरहेको तिला–१ का वडाध्यक्ष जङ्गबहादुर बस्नेतले जानकारी दिए । तिला गाउँपालिकाको नौवटै वडामा नुन ल्याउनका लागि कार्यापालिकामा छलफल गरेर सम्बन्धित वडाध्यक्षको नेतृत्वबाट वडावाटै नुन वितरण गरिने तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताए ।