काठमाडौं । मुक्तिनाथ विकास बैंकले आईक्यानको अवार्ड पाएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले हरेक वर्ष प्रदान गर्ने नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) को गोल्ड अवार्डबाट सम्मानित भएको हो । वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थालाई प्रदान गर्दै आएको प्रस्तुत पुरस्कारमा विभिन्न विधामध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७८/०७९ को लागि मुक्तिनाथ विकास बैंकले अवार्ड प्राप्त गरेको हो । यो पुरस्कार मुक्तिनाथले जितेको यो चौथोपटक हो । यसअघि आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ मा पनि यही बैंकलाई अवार्ड दिइएको थियो ।
आईक्यानले बेस्ट प्रिजेन्टेड एनुअल रिर्पोट अवार्ड विभिन्न चार विधामा प्रस्तुत गरेको थियो । पहिलो विधाअन्तर्गत बैंकिङ क्षेत्र (वाणिज्य बैंक समूह), दोस्रो विधाअन्तर्गत वित्तीय क्षेत्र (अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरू), तेस्रो विधाअन्र्तगत शक्ति र ऊर्जा क्षेत्र र चौथो विधाअन्तर्गत निर्माण क्षेत्र रहेका छन् । विकास बैंक र वित्त कम्पनीमध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्बोकृष्ट पुरस्कार प्राप्त गरेको हो । गत शुक्रबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेबापत बैंकलाई दिइने उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङजस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।