काठमाडौं, वैशाख १६
नेपाल किसान संघले कोरोना भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनपछि मुलुकभरका किसानले ठूलो नोक्सानी व्योहोर्नुुपरेको उल्लेख गर्दै उनीहरूलाई राहत कार्यक्रम घोषणा गर्न सरकारसँग आग्रह गरेको छ । संघका सभापति भानुभक्त सिग्देलले सोमबार एक विज्ञप्ति जारी गर्दै लकडाउनका कारण दिनभरि मजदुरी गरी जीवनयापन गर्ने कृषि श्रमिकलाई समस्या परेको जनाएको छ । साथै उत्पादनमा संलग्न किसानले आफ्नो उत्पादन बजारमा पु-याउन नपाएर नष्ट गर्नुपरेको र कृषिजन्य कच्चा पदार्थमा आधारित कृषि उद्यमी संकटमा परेको संघले जनाएको छ ।
श्रमिक किसानलाई गाँसबासको व्यवस्थापनका साथै कुखुरापालक किसान, दूग्ध उत्पादक किसान, मह उत्पादक किसान लगायत सबै खाले व्यावसायिक किसानहरूको नोक्सानको क्षतिपूर्ति दिने र आगामी दिनमा यस्तो क्षति हुन नदिन सुरक्षित उत्पादन र बजार व्यवस्थापनको ग्यारेण्टी गर्ने प्रकारको राहतका कार्यक्रम घोषणा गर्न संघले सरकारसँग आग्रह गरेको छ । उत्पादनमा लागेका किसान मल बीउजस्ता अति आवश्यक सामग्रीको अभावमा नयाँ उत्पादनमा लाग्न नपाएको बताउँदै अध्यक्ष सिग्देलले यसले मुलुकको समग्र अर्थव्यवस्थामा दूरगामी असर पर्ने उल्लेख गरेका छन् । संघले कोरोना रोकथामका लागि लकडाउन लागू गरेर मात्र जनताप्रतिको सबै कर्तव्य पूरा नहुने भन्दै सरकारलाई किसानका समस्याप्रति गम्भीर हुन आग्रहसमेत गरेको छ ।