काठमाडौं । काठमाडौं महानगरपालिका-३ रानीबारीस्थित एनसिएमटी स्कुल अगाडिको खोलामा आइतबार दिउँसो आएको बाढीले बगाउँदा १३ वर्षीय बालक बेपत्ता भएका छन् ।
सामाखुसी घर भएका साजन मगर विद्यालयबाट घर आएर खेल्न निस्किएका उनलाई बाढीले बगाएर बेपत्ता भएका हुन् । उनी पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत छन् । सोमबार बिहान ११ बजेसम्म पनि उनी फेला परेका छैनन्।
काठमाडौंका विभिन्न युनिटहरू उनको खोजी गर्न खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेश मैनालीले बताए।
अहिले प्रहरी वृत्त बालाजुका १० जना र प्रहरी वृत्त सोह्रखुट्टेका १० जनाले विष्णुमती खोलामा खोजी गरिरहेका छन्। मैनालीका अनुसार सामाखुसीमा खसेका बालक बगेर विभिन्न खोलामा पुगेको हुन सक्ने भएकाले छुट्टै प्रहरी परिचालन गरिएको छ। विपद् उद्धार महाशाखा सामाखुसीबाट २५ जनाको टोली पनि खटिएका छन् ।