काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत जोखिम भारको आधारमा सेयर धितो कर्जा अर्थात मार्जिन लेण्डिङ सम्वन्धी कर्जा व्यवस्थालाई परिमार्जन गर्दै लैजाने भने पनि यसले सेयर बजारमा सुधार ल्याउन नसक्ने देखिएको छ । मौद्रिक नीति घोषण भएको दिन अर्थात आईतबार हल्लै हल्लाको भरमा झण्डै ६४ अंकले उकालो लागेको सेयर बजार मौद्रिक नीति घोषणा भएको आज दोस्रो दिन उच्च अंकले ओरालो लागेको छ ।
आज प्रिओपनिङ सेसनमा सामान्य अंकले सुधार देखिएको बजार परिसुचक अन्तिम समयमा आईपुग्दा २७ दशमलव ६७ अंकले ओरालो लागेर १३ सय ५२ दशमलव ६३ बिन्दुमा खुम्चिन पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव १४ अंकले ओरालो लागेर चार सय १८ दशमलव ७८ बिन्दुमा खुम्चिन पुगेको छ ।
धितोपत्र बजारमा आज दुई सय ६५ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ७४ हजार एक सय ६१ पटकको कारोबारमा दुई करोड नौं लाख ७९ हजार आठ सय ८७ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम चार अर्ब ७३ करोड ७६ लाख आठ हजार आठ सय १० रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक झिनो अंकले उकालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरको सुचक उच्च अंकले ओरालो लागेका छन् ।