काठमाडौं । मलेसियामा रकम स्थानान्तरणसम्बन्धी काम गर्दै आएको म्याक्स मनी मलेसियामा नेपालका बैंक तथा रेमिट्यान्स कम्पनीहरूको झण्डै ६० करोड रुपैयाँ फसेको छ । नेपाल राष्ट्र बैंकले यही असार २८ गते परिपत्र जारी गरेर भुक्तानी नदिने म्याक्स मनी मलेसियासँग हुने सबै किसिमको कारोबारमा प्रतिबन्ध लगाइसकेको छ । तर, उक्त कम्पनीसँग व्यावसायिक कारोबारको लागि सम्झौता गरेको नेपाली कम्पनी आईपे, कुमारी बैंक, जापान मनी एक्सप्रेस, बेस्ट रेमिट, सिटी एक्सप्रेस, हिमालय रेमिटलगायतका कम्पनीहरूको झण्डै ६० करोड रुपैयाँ भुक्तानी हुन बाँकी देखिएको छ ।
नेपाल राष्ट्र बैंकले यसअघि २०७५ मंसिर १२ गते म्याक्स मनीको कारोबारमा प्रतिबन्ध लगाएको थियो । उक्त कम्पनीले रेमिट्यान्स कारोबारबापतको भुक्तानी गर्नुपर्ने बक्यौता रकम भुक्तानी नगरेकाले अर्को सूचना जारी नभएसम्मको लागि भन्दै राष्ट्र बैंकले कारोबारमा प्रतिबन्ध लगाएको थियो । पछि २०७६ माघ पाँच गतेराष्ट्र बैंकले सो कम्पनीलाई लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो । तर,अहिले फेरि न्यूनतम कुनै पनि सर्तहरू पालना नगरेको र नेपाली बैंक तथा रेमिट्यान्स कम्पनीहरूलाई भुक्तानी दिनुपर्ने बक्यौता रकम भुक्तानी नदिएपछि राष्ट्र बैंकले २०८० असार २८ गते पुनः म्याक्स मनी मलेसियासँग कारोबार गर्न प्रतिबन्ध लगाएको हो ।
म्याक्स मनीले नेपालका धेरै बैंक तथा रेमिट्यान्स कम्पनीहरूको करोडौँरुपैयाँ भुक्तानी दिन बाँकी छ । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले ४० करोड रुपैयाँ भुक्तानी लिनुपर्नेमा अहिले घटेर १६ करोड रुपैयाँमा झरेको बताएका छन् । उनले भने, ‘विगतमा ४० करोड रुपैयाँभुक्तानी लिन बाँकी रहेको भएपनि हामीले नेपाल राष्ट्र बैंकमार्फत विभिन्न समयमा गरेको पहलका कारण अहिले यस्तो रकम १६ करोडरुपैयाँमा झरेको छ ।’
म्याक्स मनी मलेसियामा नेपाली बैंकहरूको कति रकम फसेको छ भन्ने विषयमा नेपाल राष्ट्र बैंकका विदेशी विनिमय विभागप्रमुख रामु पौडेलले भने यसबारे आफूलाई त्यति धेरै जानकारी नभएको बताए । ‘जहाँसम्म हिमालयन बैंकको कुरा छ, उक्त बैंकको १६ करोड रुपैयाँको हाराहारीमा रकम फसेको भन्ने बुझेको छु’, उनले भने । तर, भुक्तानी नदिएको पाइएपछि नेपाल राष्ट्र बैंकले म्याक्स मनी मलेसियासँग नेपाली संस्थाहरूलाई कारोबार गर्न लगाउनुपरेको पौडेलले बताए । नेपालको म्याक्स मनी फरक भएकाले उक्त कारबाही प्रकरणमा म्याक्स मनी नेपाल नजोडिएको पनि प्रस्ट पारेका छन् । सोही विषयमा म्याक्स मनी नेपालका सञ्चालक तिलक रानाभाटले म्याक्स मनी मलेसियालाई गरेको कारबाहीको विषयमा आफू धेरै जानकार नभएको बताए । ‘अन्य बैंक तथा रेमिट्यान्स कम्पनीहरूले जस्तै म्याक्स मनी नेपालले पनि म्याक्स मनी मलेसियासँग कारोबार गथ्र्यो, राष्ट्र बैंकले प्रतिबन्ध लगाएपछि कारोबार बन्द गरिएको छ’ रानाभाटले भने, ‘म्याक्स मनी नेपाल नेपालका अन्य रेमिट्यान्स कम्पनीहरूजस्तै हो, म्याक्स मनी मलेसियासँग कुनै पनि किसिमको अन्य साझेदारी छैन ।’
म्याक्स मनी मलेसियाको बारेमा स्रोतले दिएको जानकारीअनुसार नेपालका आधा दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थासँग रेमिट्यान्स कारोबारमा सहकार्य गर्ने सम्झौता गरेको म्याक्स मनी मलेसियाले नेपाली कामदरमार्फत मलेसियामा रकम संकलन गरेपनि त्यस्तो रकम रेमिट्यान्सको रूपमा नेपाल नपठाएर ६० करोड रुपैयाँभन्दा बढी रकम घोटाला गरेको थियो । यो पैसा हिमालयन बैंक, सिटी एक्सप्रेस, आई पे, एआईसी एसिया बैंैकलगायतको भएको बुझिएको छ । मलेसियामा कार्यरत नेपालीहरूसँग म्याक्सले रेमिट्यान्सको रूपमा ठूलो परिमाणमा रकम उठाउने तर त्यस्तो रकममध्ये आंशिक मात्र नेपाल पठाउने गरेपछि म्याक्स मनीले नेपाली बैंक तथा रेमिट्यान्स कम्पनीहरूलाई उक्त परिमाणमा रकम भुक्तानी गर्नुुपर्ने देखिएको हो । सोमध्ये हिमालयन बैंकलाई मात्र म्याक्स मनीले झण्डै ४० करोड रुपैयाँ भुक्तानी दिन बाँकी देखिएको थियो । तर, पछिल्लो समय हिमालयन बैंकको धेरै रकम भुक्तानी दिइसकेको म्याक्सले अन्य बैंकहरूलाई भने रकम भुक्तानी दिएको छैन । नेपाली बैंकहरूले चाँडोभन्दा चाँडो भुक्तानी गर्न दबाब दिएपनि म्याक्स मनीका प्रमुुख कार्यकारी अधिकृृत (सीईओ) अवद हमिदले मलेसियामा संकलन गरेको धेरै रकम आफ्नो कम्पनीले अन्यत्र लगानी गरेकाले तत्काल भुक्तानी गर्न नसक्दै बताउँदै आएका थिए । सोही कारण म्याक्स मनी र नेपाली बैंकहरूबीच विवाद बढेपछि झण्डै तीन वर्षअघि नेपाल राष्ट्र बैंककै मध्यस्थतामा म्याक्स मनीका प्रमुुख कार्यकारी अधिकृत हमिद आफ्ना दुई सहयोगीसहित नेपाल आएका थिए । त्यसपछि नेपाल राष्ट्र बैंकका तत्कालीन कार्यकारी निर्देशक भीष्मराज ढुंगाना, म्याक्स मनी मलेसियाका सीईओ हमिद र म्याक्स मनीका नेपाल प्रतिनिधि तिलक रानाभाट (जो वैदेशिक रोजगार व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत थिए)बीच छलफल भएको थियो । छलफलपछि पनि राष्ट्र बैंकले म्याक्समनीबाट रकम कसरी फर्काउने भन्नेबारेमा ठोस निष्कर्ष निकाल्न सकेन । छलफलमा दोष लगाउने, गल्ती केलाउनेबाहेक कुनै काम भएन ।
स्रोतका अनुसार म्याक्स मनी मलेसियाको रकम भुक्तानीसम्बन्धी विवादलाई लिएर सो समयमा नेपाल राष्ट्र बैंकले हिमालयन बैंकको स्थलगत अनुुगमन नै गरेको थियो । अनुुगमनका क्रममा राष्ट्र बैंकले हिमालयन बैंकको सन् २००८ देखि सन् २०१३ सम्मको रेमिट्यान्स कारोबारको पूर्णविवरण माग गरेको थियो । तर, हिमालयन बैंकले सन् २०१३ को रेमिट्यान्स कारोबारसम्बन्धी विवरण राष्ट्र बैैंकलाई उपलब्ध गराए पनि त्यसअघिका वर्षहरूको रेमिट्यान्स कारोबारसम्बन्धी विवरण उपलब्ध गराउन भने केही समय लाग्ने बताउँदै आएको थियो । म्याक्स मनी र नेपाली बैंक तथा रेमिट्यान्स कम्पनीहरूबीचदेखिएको यो समस्या म्याक्स मनीकै कारण भएको देखिएको छ । मलेसियाको राजधानी क्वालालाम्पुरमा केन्द्रीय कार्यालय रहेको म्याक्समनीले विगत ४०वर्षदेखि रकम स्थानान्तरणसम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएको छ । हाल यो कम्पनीले एक सय ९० वटा राष्ट्रमा एक सय प्रकारका विदेशी मुद्राहरूमा रकम स्थानान्तरण गर्दै आएको छ ।