काठमाडौं । मिड सोलु हाइड्रो पावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा यही साउन १४ गतेबाट आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयरको बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँमध्येबाट २० प्रतिशतको अनुपातमा साधारण सेयर जारी गर्न लागेको हो । यसअन्र्तगत पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका जनताको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको सात करोड ५८ लाख रुपैयाँ बराबरको सात लाख ४८ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेकाहरूको लागि ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार आठ सय ४० कित्ता सेयर बिक्री गर्न लागेको हो । खरिदकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने बताइएको छ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले एनआईसी एसिया क्यापिटल लिमिटेडलाई चयन गरेको छ । सेयर बिक्री कार्य आयोजना प्रभावितको हकमा यही साउन १४ गतेबाट सुरु भई छिटोमा साउन २८ गते र ढिलोमा भदौ ११ गते बन्द हुने बताइएको छ । यसैगरी वैदेशिक रोजगारीमा रहेकाहरूको हकमा भने यही साउन १४ गतेबाट साधारण सेयरको बिक्री कार्य खुला भई साउन २८ गते बन्द हुने बताइएको छ ।