काठमाडौं । मंगलबार गोरखामा आयोजित पत्रकार भेटघाटमा बोल्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल पार्ने बताएका छन् । भ्रष्टाचारी वर्तमान सत्ता गठबन्धनभित्र पनि या आफ्नै पार्टीभित्र पनि हुन सक्ने भएकाले भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास हुनु स्वाभाविक भएको बताए ।
सत्ता गठबन्धनकै केही नेताहरुले गृहमन्त्रीको राजीनामा मागेकोबारे पत्रकारहरुले सोधेको प्रश्नमा मन्त्री श्रेष्ठले आफूले त्यसलाई अस्वाभाविक रुपमा नलिएको बताए । उनले भने, विभिन्न ढंगबाट यो भ्रष्टाचार विरोधी अभियान रोक्न प्रयास हुनु स्वाभाविक छ, तर त्यो प्रयत्नलाई हामी असफल पार्छौं, समृद्धिको लक्ष्य हासिल गर्न यो सरकार प्रतिबद्ध छ ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिएको करिब एक क्विन्टल सुनको घटनालाई सरकारले गम्भीर र संवेदनशील रुपमा लिएको मन्त्री श्रेष्ठले बताए । उनले अनुसन्धानको क्रममा तथ्य प्रमाणको आधारमा जो संलग्न देखिए पनि कारबाहीको दायरामा ल्याउने पनि बताए ।