रोम, वैशाख १६
इटलीमा कोरोना भाइरसको संक्रमण दर विस्तारै कम हुँदै गएको संकेत गर्दै प्रधानमन्त्री जिसेपे कोन्टीले आगामी मे ४ देखि उत्पादन, निर्माण र थोक बिक्रेताहरूलाई काममा फर्किन सक्ने बताएका छन् । राष्ट्रिय टेलिभिजन च्यानलमार्फत् प्रशारण गरिएको भिडियोमा उनले भने, ‘सुरूमा अर्थात् मे ४ देखि उत्पादन, निर्माण र थोक विक्रेताहरू काममा फर्किन सरकारले अनुमति दिने तयारी गरिरहेको छ । अहिलेकै अवस्था रहेमा त्यसपछि खुद्रा व्यापारी, रंगशाला, प्रदर्शन भवनहरू र लाइब्रेरीलाई मे १८ पछि खुला गरिनेछ भने बार, रेष्टुरेण्ट, सैलुन र शृंगार पसलहरूलाई जुन १ देखि खुला गरिनेछ ।’
प्रधानमन्त्रीले मे ४ पछि स्थानीय नागरिकलाई मास्कको प्रयोग गरेर आफ्ना आफन्त भेट्न पार्क तथा सार्वजनिक बगैँचाहरू खुल्ने बताएका छन् । घरबाट करिब २०० मिटरन्दा टाढा जान मोटरसाइकलको प्रयोग गर्न र शारिरीक अभ्यासका लागि हिड्न खुला गरिने प्रधानमन्त्री कोन्टीले बताए । राष्ट्रिय बन्दाबन्दीको घोषणालाई आगामी मे ३ पछि खुला गर्ने तर दोस्रो चरणका लागि फरक किसिमको नीति अवलम्वन गरिने उनले बताए । उनले संक्रमण बढी रहेको क्षेत्रमा आगामी केही समय नागरिकले कठिनाई परेपनि सहेर सरकारलाई सघाउन र आफ्नो व्यक्तिगत स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह गरे ।
मृतकका आफन्तले कम्तीमा १५ जनाको सहभागितामा अन्त्येष्टिमा सहभागिता जनाउन पाउने र सबै व्यक्ति, उद्योग तथा व्यवसायिक फर्महरूले कोरोनाभाइरसबाट बच्न सुरक्षा अनुशासनलाई पालना गर्नुपर्ने र त्यसो नगरेको पाइएमा आवश्यक कानुनी कारबाही हुने पनि प्रधानमन्त्रीले बताए । अझै पनि कोभिड–१९ संक्रमणको सुरक्षा खतरा व्याप्त रहेको छ त्यसैले सामाजिक दूरी कायम गर्ने, मास्क तथा पञ्जाहरूको प्रयोग गर्ने र अनावश्यक भिडभाडमा नजाने गर्नेजस्ता उपाय अवलम्बन गर्दै कोभिड–१९ विरूद्धको लडाइँमा सम्पूर्ण नागरिकको सहयोग अझै पनि केही समयका लागि सरकार तथा स्वास्थ्यकर्मीको अनुरोधलाई मानी सहकार्य गर्न उनले आग्रह गरे ।
इटलीमा विगत २४ घण्टामा २६० जनाको मृत्यु भएको छ भने यो मार्चपछिको सबैभन्दा निम्न संख्या भएको यहाँको नागरिक सुरक्षा विभागले आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । इटलीमा सोमबारसम्ममा २६ हजार ६४४ जनाको कोभिड–१९ को संक्रमणका कारण भएको छ भने एक लाख ९७ हजार ६७५ जनामा संक्रमण पुष्टि भएको छ । इटलीमा पछिल्ला केही साता यता निको भएर घर फर्किनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । आइतबारसम्म इटलीमा ६४ हजार ९२८ जना निको भई घर फर्किएका छन् ।