काठमाडौं । मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली काँग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्रकान्त भण्डारीले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा लगायतका नेताहरु सामूहिक रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।
उनले भने, ‘तपाईहरु उपसभापति, महामन्त्री बन्नुभयो तर अहिलेसम्म तपाईहरुले पार्टी सभापतिसँग बसेर यो गर्नुपर्छ भन्नुभएको छ कि छैन ? यदि छैन भने टिम बनाएर संगै बसेर छलफल गर्ने गर्नुहोस्' भण्डारीले भने । 'हामी सबै सँगै बसेर छलफल गर्दा यो टिमले कति राम्रो काम गरेको थियो । त्यसकारण म सुझाव दिन चाहन्छु तपाईहरुले टिम बनाउनुस् । त्यो टिम बनाउनुभयो भने तपाईहरुलाई समयले स्वागतका लागि प्रतिक्षा गरिरहेको छ' । उनले भने ।
भण्डारीले उपसभापति र महामन्त्रीहरुका बीचमा बैठक राख्ने र एजेण्डा तय गरेर सँगै हिँड्न आग्रह गरे । उनले भने, ‘हामीले आन्दोलन गर्न जान्यौँ । सत्ता चलाउन जानेनौँ । म आग्रह गर्न चाहन्छु, पार्टी सभापति शेरबहादुरजी ८० वर्ष पुग्न थाल्नुभएको छ । जोश जाँगर भएका उपसभापति र महामन्त्री हुनुहुन्छ अब उहाँहरुले नेतृत्व लिनुपर्यो ।’