काठमाडौं । अझै पनि नेपाली युवा जनशक्तिको वैदेशिक रोजगारीको मुख्य गन्तव्य खाडीका छवटा राष्ट्र र मलेसियाभन्दा बाहिरका अन्य देश बन्न सकेको छैन । मुलुकमा पर्याप्त रोजगारी नहुँदा नेपालीहरू वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता पछिल्ला वर्षहरूमा झनै बढ्दै गएको छ भने विदेशमा रोजगारीमा जानेहरू दक्ष कामदारका रूपमा भन्दा पनि अदक्ष कामदारकै संख्या बढी देखिएको छ । नेपालमा शिक्षा र भौतिक पूर्वाधारमा भएको विकासले स्वदेशमै रोजगारी बढ्नुपर्नेमा त्यसको ठीक विपरीत देश छाड्नेहरूको संख्या बढिरहेको छ, त्यो पनि दक्ष कामदारका रूपमा होइन अदक्ष कामदारका रूपमा । यसले श्रम शक्ति बाहिरिएको तुलनामा आम्दानी न्यून छ ।
गत आर्थिक वर्षमा झण्डै आठ लाख नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा सात लाख ७१ हजार तीन सय २८ जनाले मलेसिया, दक्षिण कोरिया, खाडी, युरोपलगायतका मुलुकमा जानको लागि श्रम स्वीकृति लिएका छन् । विगत एक/डेढ दशकभन्दा अगाडिदेखि नै नेपालीहरूको श्रम गन्तव्य खाडी र मलेसियाका देश नै हुन् ।
आर्थिक वर्ष २०७८/७९को तुलनामा गत आर्थिक वर्षमा श्रम स्वीकृति लिनेको संख्या २२ दशमलव ७२ प्रतिशत अर्थात् एक लाख ४२ हजार आठ सय २५ जनाले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९मा छ लाख २८ हजार पाँच सय तीन जनाले श्रम स्वीकृति लिएका थिए । त्यसमा अधिकांश अदक्ष कामदारका रूपमा छन् ।
गत आर्थिक वर्षमा श्रम स्वीकृति लिनेमध्ये सबैभन्दा बढी मलेसियामा २८ दशमलव ४३ प्रतिशत अर्थात् दुई लाख १९ हजार तीन सय जना, खाडी मुलुक संयुक्त अरब इमिरेटस (यूएई)मा सात दशमलव ६६ प्रतिशत अर्थात् ५९ हजार एक सय ५२ जना, साउदी अरबियामा सात दशमलव २३ प्रतिशत अर्थात् ५५ हजार सात सय ९१ जना, कतारमा छ दशमलव १४ प्रतिशत अर्थात् ४९ हजार पाँच सय १७ जना र कुवेतमा चार प्रतिशत अर्थात् ३१ हजार चार सय १० जना रहेका छन् ।
बहराइन र ओमनमा एक प्रतिशतभन्दा कम र दक्षिण कोरिया र युरोपमा क्रमशः दुई दशमलव ८३ प्रतिशत अर्थात् २१ हजार आठ सय ७० जना र ३७ हजार नौ सय ६२ जनाले श्रम स्वीकृति लिएका छन् । कुवेत र बहराइनका लागि क्रमशः ३१ हजार चार सय १० जना र तीन हजार नौ सय जनाले श्रम स्वीकृति लिएका छन् ।
आर्थिक वर्ष २०७८/७९मा श्रम स्वीकृति लिनेमध्ये कतारमा एक लाख ८४ हजार नौ सय २६ जना, साउदी अरबियामा एक लाख २२ हजार छ सय ३५ जना, कुवतेमा एक लाख ८८ हजार छ सय ९१ जना, बहराइनमा १२ हजार ६२ जना र ओमानमा छ हजार आठ सय ४९ जना गरी खाडी मुलुकहरूमा मात्र पाँच लाख ५० हजार सात सय चार जनाले श्रम स्वीकृति लिएका थिए । साथै मलेसियामा ३६ हजार छ सय ४४ जनाले श्रम स्वीकृति लिएका थिए । विभागका अनुसार वैदेशिक रोजगारीमा जाने झन्डै ८८ प्रतिशतको प्रमुख गन्तव्य खाडी र मलेसिया हो ।
यस्तै, वैदेशिक रोजगारीका लागि मलेसिया र खाडी मुलुकको विकल्प खोजी हुँदै गर्दा पनि अन्य मुलुकहरू गन्तव्य मुलुक बन्न सकेको देखिँदैन । मलेसिया र खाडी मुलुकको विकल्पको रूपमा युरोप र अमेरिकाका विभिन्न मुलुकहरूमा नेपाली पुगे पनि सहजता र लगानी रकम बढी हुँदा ती मुलुकमा श्रम स्वीकृतिको संख्या बढ्न नसकेको विभागका अधिकारीहरूले बताए ।
यद्यपि युरोप, अमेरिकालगायतका मुलुकमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या भने क्रमिकरूपमा बढ्दै गएको छ तर गन्तव्य मुलुक बन्न भने अझै समय लाग्ने उनीहरूको भनाइ छ । खाडी र मलेसिया नेपालीको लागि प्रमुख गन्तव्य मुलुक बने पनि त्यहाँ श्रम कानुन, मानव अधिकारको पूर्ण पालना हुन नसक्दा श्रमिकहरू आधारभूत अधिकार समेत प्राप्त गर्न सकेका छैनन् । ती मुलुकहरूमा श्रमिकहरू आफ्नो पारिश्रमिकबाट समेत वञ्चित हुनपर्ने अवस्था रहेको छ । खाडी र मलेसियामा नेपाली श्रमिकहरूले सहज वातावरणमा काम गर्ने अवस्था नरहेको श्रमविज्ञ डा. गणेश गुरुङ बताउँछन् ।
काम गरेबापत पाउने पारिश्रमिकलगायतका सेवासुविधाबाट वञ्चित हुनुपर्ने, कानुनी सहायता, उपचार सुविधालगायतका समस्याले गर्दा श्रमिकहरू समस्या यथावत् रहँदा गन्तव्य मुलुक सुरक्षित तथा सहज हुन नसकेको उनले बताए । सरकारी तथ्यांकअनुरूप नै गन्तव्य मुलुक मानिएका ती मुलुकहरूमा नियमसम्मतको सुविधा प्राप्त नहुँदा श्रमिक फिर्ता हुँदा, न्याय लिन, शव ल्याउँदा स्वयम श्रमिकले खर्च गर्नुपर्ने अवस्था छ । अर्कोतर्फ श्रम गन्तव्य मुलुकहरू असुरक्षित बन्दा ज्यान गुमाउने श्रमिकको संख्या समेत धेरै रहेको छ । जसमा सुधार हुन आवश्यक छ ।