काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतासम्बन्धी मार्गदर्शन, २०७९ कार्यान्वयनमा ल्याउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । अनुमतिप्राप्त सबै संस्थाहरूको नाममा सूचना जारी गर्दै राष्ट्र बैंकले मंगलबार उक्त मार्गदर्शन कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
वित्तीय साक्षरता वित्तीय स्थायित्वको आधारशीला भएकोले वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र बढीभन्दा बढी आर्थिक गतिविधिलाई वित्तीय प्रणालीमा समावेश गर्नको लागि यो निर्देशिका कार्यान्वयनमा ल्याइएको राष्ट्र बैंकको भनाइ छ । वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्र बैंकले विगतदेखि नै वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यसबीचमा विभिन्न संस्थाका छरिएका कार्यक्रमबाट वित्तीय साक्षरता प्रवर्द्धन अभियानले अपेक्षित गति लिन नसकेको हुँदा यस्ता कार्यक्रमलाई थप व्यवस्थित र समन्वयात्मक ढंगले एकीकृतरूपमा अघि बढाउन वित्तीय साक्षरता ढाँचा २०७९ जारी भएको सन्दर्भमा इजाजतपत्र प्राप्त संस्थाहरूका गतिविधि सोही ढाँचाअनुरूप नियमित र व्यवस्थित बनाउने उद्देश्यले यो वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरिएको हो, राष्ट्र बैंकले मार्गदर्शनमार्फत भनेको छ ।
वित्तीय साक्षरता मार्गदर्शनको उद्देश्य वित्तीय साक्षरताको लागि आवश्यक संस्थागत पूर्वाधार निर्माण गर्ने, लक्षित वर्गकेन्द्रित वित्तीय साक्षरता अध्ययन सामग्रीको प्रयोग सुनिश्चित गर्ने, वित्तीय साक्षरता कार्यक्रमको अनुगमनका लागि आधार निर्माण गर्ने, वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्दै जिम्मेवार वित्तीय आचरणको विकास गर्ने, आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने रहेको जानकारी पनि राष्ट्र बैंकले दिएको छ । वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत बैंक तथा वित्तीय संस्थाले वित्तीय साक्षरता अभिवृद्धिको लागि विभिन्न प्रकारका कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ । यसको लागि बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय ज्ञानको अभाव भएका व्यक्तिलाई औपचारिक वित्तीय प्रणालीमा समेट्नुका साथै सामान्य वित्तीय जानकारी भएका व्यक्तिलाई नयाँ वित्तीय अवधारणाको जानकारी गराउँदै वित्तीय प्रणालीप्रति अभ्यस्त बनाई धेरैभन्दा धेरै नागरिकमा औपचारिक वित्तीय प्रणालीमा पहुँच पु¥याउने अभिप्रायले वित्तीय चेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । यसैगरी वित्तीय साक्षरता कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन गर्न आवश्यक संरचनाको विकास गर्ने र लक्षित वर्गका लागि उपयुक्त हुनेगरी वित्तीय ज्ञानका विविध क्षेत्र समेटी व्यवस्थितरूपमा योजना तयार गर्नुपर्नेछ । यसरी योजना तयार गर्दा प्रत्येक लक्षित वर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहार परिवर्तनको लागि सैद्धान्तिक एवं व्यावहारिक पक्ष समेटी चार तहमा कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । संस्थाको योजनाको उचित कार्यान्वयनका साथै कार्यक्रमको नियमित अनुगमन तथा रिपोर्टिङका लागि संस्थाले पूर्ण प्रतिबद्धता व्यक्त गर्नुपर्नेछ ।
वित्तीय साक्षरता सामग्रीको निर्माण संस्थाले वित्तीय साक्षरतासम्बन्धी अध्ययन सामग्री सम्प्रेषण गर्दा आफ्ना सेवाको विज्ञापन गर्ने, संस्थाको ब्रान्डिङ गर्ने, व्यापारिक क्याम्पेन गर्ने नभई मूलतः उपयोगी वित्तीय ज्ञान तथा सीप विकास गर्नेमा केन्द्रित हुनुपर्नेछ । यसरी प्रदान गरिने वित्तीय ज्ञानका लागि वैयक्तिक तथा व्यक्तिगत सञ्चार र परामर्श, पत्रपत्रिका, रेडियो तथा एफएम, टेलिभिजन (साधारण नेपाली तथा स्थानीय भाषामा), सामूहिक प्रस्तुति र वार्ता कार्यक्रम, सामाजिक सञ्जाल, वेबसाइट, मोबाइल एप्लिकेसन, प्रकाशनहरू, पम्प्लेट, बुकलेट, हाते किताब, गीत, सङ्गीत, कथा, कविता, कमिक, मोबाइल लाइब्रेरी, डिजिटल बोर्ड, अनलाइन खेलकुद, प्रतियोगिता र पाठ्य सामग्रीलगायतका क्रियाकलापहरू गर्न सकिने मार्गदर्शनमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार वित्तीय साक्षरता प्रदान गर्ने संस्थाहरूले वित्तीय साक्षरता कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय कार्यालयमा वित्तीय साक्षरता इकाइ वा कुनै इकाइलाई सोको जिम्मेवारी तोक्नुपर्नेछ । उक्त इकाइले वित्तीय साक्षरतासम्बन्धी वार्षिक कार्ययोजना बनाई स्थानीय तथा प्रादेशिकस्तरमा वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । वार्षिक कार्ययोजनामा वित्तीय साक्षरताका लागि तयार गरिएका कार्यक्रमको विवरण, समयतालिका एवं कार्यक्रम सञ्चालनमा लाग्ने लागत समेत अनुमान गर्नुपर्नेछ । वित्तीय साक्षरतासम्बन्धी योजना तथा कार्ययोजना तर्जुमा गर्दा आधारभूतरूपमा राष्ट्र बैंकबाट जारी वित्तीय साक्षरता ढाँचा २०७९ लाई पालना गर्नुपर्नेछ । योजना तर्जुमा तथा कार्यक्रम निर्माण गर्दा हरेक लक्षित वर्गका लागि कार्यक्रम बनाई सोअनुसार कार्यान्वयन गर्नुपर्नेछ । वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्दा दुर्गम तथा वित्तीय पहुँच कम भएका स्थानहरूलाई प्राथमिकता दिनुपर्नेछ भने वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमका लागि स्रोतव्यक्ति तयार गर्न बैंकका कर्मचारीलाई आवश्यक तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न सकिनेछ ।
संस्थाले नियमितरूपमा विभिन्न माध्यमबाट लक्षित वर्गअनुरूप वित्तीय साक्षरतासम्बन्धी अध्ययन सामग्री सम्प्रेषण गर्नुपर्नेछ । साथै, खाता खोल्ने, बैंक खातामा बचत गर्ने, रकम झिक्ने, रकमान्तर गर्नेजस्ता आधारभूत क्रियाकलापको प्रयोगात्मक शिक्षा दिने व्यवस्था मिलाउनुपर्नेछ । बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय साक्षरतासम्बन्धी आवधिक कार्ययोजना तयार गर्दा हरेक लक्षित वर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहार परिवर्तनका लागि सैद्धान्तिक एवं व्यावहारिक पक्षहरूलाई समेट्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय साक्षरता कार्यक्रमको लक्ष्य, विषय, विधि तथा माध्यमको छनौट गर्दा अधिकतम लक्षित वर्ग समेटिने गरी गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाहरूले ब्याज अनुदान प्राप्त हुने विभिन्न प्रकारका सहुलियतपूर्ण कर्जा, आधुनिक प्रविधिमा आधारित भुक्तानी सेवाहरू, वित्तीय सेवा प्रवाहसम्बन्धी गुनासो सुनुवाइ एवं व्यवस्थापन प्रणालीको बारेमा सर्वसाधारणले सहजै बुझ्ने र सूचना पाउन सक्नेगरी आवश्यक संयन्त्रको विकास गर्नुपर्नेछ ।
बैंक तथा वित्तीय संस्थाहरूले तयार पारेका वित्तीय साक्षरता कार्ययोजनाको उचित कार्यान्वयनका साथै कार्यक्रमको नियमित मूल्यांकन तथा रिपोर्टिङका लागि संस्थाले पूर्ण प्रतिबद्धता व्यक्त गर्नुपर्नेछ । वित्तीय साक्षरता कार्यक्रमको अनुगमनअन्तर्गत इजाजतपत्रप्राप्त संस्थाले वित्तीय साक्षरतासम्बन्धी कार्ययोजना आर्थिक वर्षको पहिलो त्रैमासभित्र नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखामा पेस गर्नुपर्नेछ । संस्थाको केन्द्रीयस्तरबाट वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरूको नियमितरूपमा आन्तरिक मूल्यांकन गर्नुपर्नेछ । यस्तो मूल्यांकन प्रतिवेदनमाथि संस्थाको सञ्चालक समितिले वार्षिकरूपमा छलफल गरी संस्थाको गतिविधिको समीक्षासहित वार्षिकरूपमा दोस्रो त्रैमासभित्र नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखामा पठाउनुपर्ने मार्गदर्शनमा उल्लेख छ ।