काठमाडौं । पछिल्लो सुन प्रकरणबारे गृहमन्त्रीले संसदलाई जानकारी गराउनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बताएको छ ।
गृहमन्त्री र अर्थमन्त्रीले सुन प्रकरणमा नैतिक जिम्मेवारी लिनुपर्ने र नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग प्रमुख प्रतिपक्षी नेकपा एमालेले गरेका बेला राप्रपाले सही छानबिन आवश्यक रहेको बताएको हो ।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले भने, ‘हामी संसदमा सुन प्रकरणबारे जानकारी माग गर्दछौं । गृहमन्त्रीको जवाफ माग्छौं ।’
बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । उक्त बैठकमा राप्रपाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल अवैध सुन बाहिरिएको घटनाका सन्दर्भमा गृहमन्त्रीसँग जानकारी माग गर्ने भएको हो ।