काठमाडौं । मंगलबार आम जनता पार्टीका अध्यक्ष प्रभु साहको नाम जोडेर रौतहटका सत्तारुढ दलहरुले संयुक्त रुपमा प्रदर्शन गरेका थिए । उक्त पर्दशनप्रति आम जनता पार्टीले गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ । गौर हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउन आम जनता पार्टीले माग गरेको छ ।
गौर हत्याकाण्डका हत्यारालाई जोगाउन रौतहटका सत्तारुढ राजनीतिक दलहरु एकजुट भएको आम जनता पार्टीले आरोप लगाएको छ । आम जनता पार्टीका प्रवक्ता चन्द्रभुषण साहले विज्ञप्ति निकालेर सर्वोच्च अदालतसहित देशका तिनै तहको न्यायालयबाट न्याय निरुपण हुँदा कहीँ कतै प्रभु साहको नाम निशानसमेत नआएको विषयमा पूर्वाग्रही भई कपोकल्पित, आधारहिन र झुठा आरोप लगाएर प्रदर्शन भएको बताएका छन् ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘गौर हत्याकाण्डका अपराधीहरुलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन मार्गप्रशस्त गरी सहयोग गर्न सम्बन्धित सबै पक्षहरुसँग जोडदार माग समेत गर्दछौं ।’ विगत १७ वर्षदेखि अनवरत न्यायको पर्खाइमा रहेका विभत्स गौर हत्याकाण्डका पीडितहरुले न्याय पाउने सम्भावना बढेसँगै हत्याकाण्डका अपराधी र तीनका संरक्षकहरु आतंकित भई यसरी संगठित हुनुले पनि काफी कुराको संकेत गरिरहेको बुझिन्छ ।