काठमाडौं । २०६३ साल चैत ७ गते रौतहटको गौर बजारमा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादी कार्यकर्ताको बीच झडप हुँदा २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो भने ११५ जना घाइते भएका थिए । गौर घटना भएको १७ वर्ष बितिसक्दा पनि पीडित परिवारले अझै न्याय पाउन सकेका छैनन् ।
राष्ट्रिय मानव अधिकार आयोगदेखि लिएर विभिन्न राजनीतिक दल लगायतका संघसंस्थाले पनि गौर घटनाको बारेमा चासो लिँदै आइरहेका छन् । तर पनि सो घटनाका दोषीलाई आजसम्म कसैले कार्यवाही गरेका छैनन ।
हालसम्म सरकारबाट मृतकका परिवारले कुनै राहत तथा क्षतिपूर्ति प्राप्त नगरेको उल्लेख गर्दै आयोगले मृतक व्यक्तिका प्रत्येक परिवारलाई राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा १६ बमोजिम कम्तीमा प्रतिव्यक्ति तीन लाखको दरले यथाशीघ्र क्षतिपूर्ति उपलब्ध गराई तीन महिनाभित्र आयोगमा जानकारी गराउन भनेको थियो । तर त्यो पनि कार्यान्वयनमा आएको छैन ।