काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २९ औँ ‘प्रकाश मानव अधिकार पुरस्कार’ कपिलवस्तुकी ४५ वर्षीया रुकैया खातुनलाई प्रदान गर्ने भएको छ । शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील रहेकी खातुनलाई यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार प्रदान गर्न लागिएको हो ।
इन्सेकको मंगलबार बसेको बैठकले संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसका आधारमा उनलाई सो पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पु-याएको योगदानको स्मरण गर्दै उनको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यका साथ इन्सेकले ‘प्रकाश मानव अधिकार पुरस्कार’ प्रदान गर्ने गरेको छ ।
नेपालको राजनीतिक, शैक्षिक, स्वास्थ्य तथा सामाजिकलगायतका क्षेत्रबाट अधिकारोन्मुख चेतनामा आधारित भएर विशिष्ट योगदान गरेका व्यक्तित्वलाई ‘प्रकाश स्मृति दिवस’को अवसर पारेर पुरस्कृत गरिँदै आएको इन्सेकले जनाएको छ । यो पुरस्कारबाट यसअघि पत्रकार स्व विनयकुमार कसजु, समाजसेवी स्व दयावीरसिंह कंसाकार, डा गौरीशंकरलाल दास, दलित अधिकारकर्मी रामरतिदेवी राम, महिला अधिकारकर्मी वसन्तीदेवी झा, पत्रकार नारायण शर्मालगायत २८ जना सम्मानित भइसकेका छन् ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रमुख आतिथ्यमा साउन १६ गते ललितपुरको स्टाफ कलेजमा एक कार्यक्रमका बीच खातुनलाई सम्मान गर्ने कार्यक्रम रहेको इन्सेकले जनाएको छ । पुरस्कृत व्यक्तित्वलाई सम्मानपत्रसहित ५० हजार नगद प्रदान गर्ने गरिएको संस्थाले जनाएको छ ।