काठमाडौं । सरकारबाट भए गरेका कामको व्यवस्थित ढङ्गले प्रचारप्रसार तथा नागरिकलाई सूसुचित गर्ने दायित्व सरकारको भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छिन् ।
बिहीबार सिंहदरबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित संवैधानिक निकाय, सङ्घीय मन्त्रालय तथा केन्द्रीय निकायका प्रवक्ता र सूचना अधिकारीबीचको अन्तरक्रियाको उद्घाट्नमा उनले सूचनाको विषयलाई गम्भीररुपमा लिन, सरकारबाट भएका काम व्यवस्थित ढु्ङ्गले प्रचारप्रसार गर्न तथा नागरिकलाई सुसुचित गर्न सरोकारवाला सबैलाई आग्रह गरिन् ।
सरोकारवाला व्यक्ति एक ठाउँमा बसी अन्तरक्रिया गर्ने, सबैमा भएका अनुभव ज्ञान, सीप र क्षमता आदानप्रदान गर्ने तथा सूचनालाई व्यवस्थित गर्ने आशयका साथ गरिएको यो कार्यक्रम जरुरी रहेको मन्त्री शर्माले उल्लेख गर्दै धन्यवाद दिइन् ।
सबै मन्त्रालयले गरेका कामको दैनिक रेकर्ड राख्ने हो भने सूचनाका विवरण खोज्न सहज हुने उनको भनाइ थियो । यसका लागि न्यूनतम खर्चमा एक पोर्टल बनाउने काममा मन्त्रालय लागेको समेत उनले बताइन् । उनले भनिन्, “सबै मन्त्रालयले गरेको काम एउटा पोर्टल बनाएर एकीकृत गर्न सके त्यो दैनिक रिर्पोटिङमा जान्छ र सबैलाई जानकारी हुन्छ ।” मन्त्री शर्माले यसमा ध्यान दिन सबैलाई आग्रह गरिन् ।
मन्त्री शर्माले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिने पत्रकार सम्मेलनमा सम्बन्धित निकायका प्रवक्ता नै उपस्थित भएर सूचना दिन सके पत्रकार सम्मलेन प्रभावकारी हुने बताउँदै नियमित उपस्थितिका लागि आग्रहसमेत गरिन् ।
कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले सरकारले पारदर्शीता र विश्वास कायम गर्नका लागि भए पनि सरकारबाट भए गरेका काम आम नागरिकले थाहा पाउने गरी सूचना दिन हिच्किचाउन नहुनेमा जोड दिए ।