काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात गरेको छ । यो सुविधाअन्तर्गत ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टलमार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्नेछन् । ततपश्चात बैंक ग्यारेन्टी (जमानत) प्रक्रिया पूरा भएको सूचना आवेदकले इमेलमार्फत प्राप्त गर्न सक्ने छन् ।
उक्त सूचना प्राप्त गरेपश्चात् सम्बन्धितले सक्कल आवेदनसहित बैंकको काउन्टरबाट बैंक ग्यारेन्टी (जमानत) संकलन गर्ने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ । आवेदनमा कुनै समस्या भएमा कारणसहित इमेलमार्फत समयमै सूचना पठाइने बैंकको भनाइ छ ।
यो प्रविधिबाट ग्राहकहरूलाई छिटो, छरिटो र झन्झटरहित सेवा प्रवाह गर्न मद्दत पुग्ने बैंकले विश्वास गरेको छ । सानिमा बैंककोे सातै प्रदेशमा एक सय ३२ वटा कार्यालयहरू र एक सय २३ वटा एटीएम सञ्जालहरू रहेका छन् ।