काठमाडौं । इटाली भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताएका छन् ।
प्रधानमन्त्री दाहालले राजीनामा दिने भए देऊ, नभए सदन चल्दैन भनेर विपक्षीले गरेको अवरोध राम्रो नभएको बताए । स्पष्टीकरणको मौका नै नदिई एकोहोरो राजीनामा मात्रै माग्ने संस्कार राम्रो नभएको प्रधानमन्त्री दाहालको भनाइ छ ।
प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को बैठक, अन्य सरोकारवाला निकायसँगको छलफलमा देशभरी महामारीका रूपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि आवश्यक पहल गरिएको र लाखौं पशु चौपायालाई खोप लगाइएको बताए । विश्व समुदायमा नेपालको उपस्थिति र हैसियत थप स्थापित गर्न सम्मेलन महत्त्वपूर्ण रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।