काठमाडौं । साउनको अन्तिम सातादेखि सरकारले ‘ह्यूमन प्यापीलोमा भाइरस’ (एचपीभी) विरुद्धको खोप लगाउन सुरु गर्ने भएको छ । यो खोप ९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई दिन लागिएको हो । अहिले एचपीभी खोप कुन ठाउँबाट दिने भन्नेबारे छलफल चलिरहेको छ ।
स्वास्थ्य मन्त्रालयलाई सम्भावित ठाउँको नाम पठाएका छौं । हाम्रो तयारी साउनको अन्तिमबाट सुरू गर्ने भन्ने छ’, डा. अभियान गौतमले भने । स्वास्थ्य सेवा विभाग अन्तगर्तको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. गौतमका अनुसार ‘पाइलट प्रोजेट’ का रुपमा कार्यक्रमलाई सञ्चालन गरिनेछ ।
डा. गौतमका अनुसार कुनै एक जिल्ला वा दुई–तीन पालिकाका किशोरीलाई दिने योजना छ । उनले भने, ‘मन्त्रालयबाट निर्णय भएपछि सबै कुराको जानकारी हुनेछ ।’ ‘हामीसँग थोरै मात्र खोप भएकाले धेरै ठाउँका किशोरीलाई दिन सकिने अवस्था छैन । करिब ९ हजार किशोरी लाभान्वित हुनेगरी केही पालिका वा जिल्ला हेरेर एचपीभी खोप दिन सक्छौ’ गौतमले भने ।