काठमाडौं, वैशाख १६
सनराइज बैंकले थप दुुईवटा अस्पताललाई पीपीई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धौलागिरी अस्पताल र पर्वत अस्पतालमा २५, २५ थान व्यक्तिगत सुरक्षा उपकरा (पीपीई) सहयोग गरेको हो । बैंकका अनुसार उक्त सामग्री धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र विक र पर्वतमा पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी र मेडिकल सुपरिटेन्डेन डा. शिशिर देवकोटालाई हस्तान्तरण गरिएको हो ।
हालसम्म बैंकले देशभरका विभिन्न अस्पतालमा पाँच सय ५० वटाभन्दा बढी पीपीई वितरण सहयोग गरिरहेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ९४ करोड ४३ लाख ८८ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ७९ करोड २४ लाख ४५ हजार रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी आठ अर्ब ९६ करोड ७८ लाख ११ हजार रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ८२ अर्ब १५ करोड ५८ लाख १४ हजार रूपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ५८ करोड ७८ लाख ५३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब चार करोड ७४ लाख ३६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने भने वितरणयोग्य नाफा ५१ करोड ९० लाख ३८ हजार रूपैयाँ छ ।
गत आवको सोही अवधिमा भने बैंकले ७५ अर्ब ४३ करोड २१ लाख ५१ हजार रूपैयाँ निक्षेप संंकलन गरी ६८ अर्ब ८६ करोड ५८ लाख १० हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ७२ करोड १४ लाख नौ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।