काठमाडौं । एनआईसी एसिया बैंकले क्युआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै प्राप्त गर्न सक्ने प्रविधिको विकास गरेको छ । ‘स्मार्ट अडियो अलर्ट डिभाइस’मार्फत् बैंकको क्युआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेन्टहरूले आफ्ना सेवाग्राहीबाट उक्त प्रणालीमा भुक्तानी लिँदा एसएमएस वा इमेल अलर्टका अतिरिक्त अब यो डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको पुष्टि गर्न सकिने बैंकले जनाएको छ । समयअनुरूप परिष्कृत सेवा तथा सुविधाका साथ लाखौं ग्राहकमाझ आधुनिक बैंकिङको अभ्यास गरिरहेको यस बैंकले डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको सुरुवात गरेको जनाएको छ ।
बैंकले ल्याएको नवीन प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्युआर कोडमार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल प्राप्त गर्न सक्ने छन् । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा ल्याएको यस डिभाइसमा नेपाल–पे क्युरआरबाट भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ भने निकट भविष्यमा अन्य भुक्तानी नेटवर्कबाट भुक्तानी गर्दा समेत यस्तै सूचना दिने व्यवस्थाको तयारी गरिरहेको बैंकले जनाएको छ । क्युआर कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर हजारौँ मर्चेन्ट तथा लाखौं ग्राहकबीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभईसमग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो डिभाइस क्रान्तिकारी सावित हुने विश्वास बैंकले लिएको छ ।
बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल भएको बैंकमध्येको बैंक हो । बैंकले मुलुकभर तीन सय ६० वटा शाखा कार्यालय, पाँच सय ४६ वटा एटीएम, एक सय ११ वटा विस्तारित काउन्टर एवम् ६५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिँदै आएको बैंकको दाबी छ ।