काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले ३४ औं वार्षिकोत्सव मनाएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच वार्षिकोत्सवको नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गरे । कार्यक्रममा महासचिव पोखरेलले उत्कृष्ट कार्यसम्पादनमा आफ्नो क्षमता प्रमाणित गरिसकेका संस्थानका कर्मचारीको सेवासुविधा वृद्धिमा सरकारले सहयोगी नीति लिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयले कर्मचारीको तर्फबाट उचित ढङ्गले राखिएका सबै मागहरू व्यवस्थापनले सम्बोधन गर्नुपर्ने बताए । कार्यक्रममा पेसागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालले आफ्नो हकहितको लागि सम्पूर्ण पेसाकर्मीहरू एक हुनुपर्नेे बताए । कार्यक्रममा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, कर्मचारी संघ नेपालका पूर्वअध्यक्ष शिवकुमार अधिकारी, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीलगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली, बैंक सञ्चालक समितिका अध्यक्ष डाबलराम पाठक, संघका पूर्वअध्यक्षहरू, विभिन्न प्रतिष्ठानस्तरका ट्रेड युनियनका अध्यक्षहरू, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, उपकार्यकारी अधिकृतहरू, विभागीय प्रमुखहरू, शाखा प्रबन्धकहरू, संघका पदाधिकारीलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । संघको विभिन्न प्रदेश समितिहरूमा समेत विविध कार्यक्रम गरी वार्षिकोत्सव कार्यक्रम मनाइएको संघले जनाएको छ । वार्षिकोत्सवको पूर्वसन्ध्यामा संघले साउन चार गते रक्तदान कार्यक्रम आयोजना गरेको थियो । जसमाबैंकका ७१ जना कर्मचारीले रक्तदान गरेको संघको भनाइ छ ।
कार्यक्रममा गण्डकी प्रादेशिक समितिलाई कार्यसम्पादन मूल्याङ्कनमा उष्कृष्ट भएबापत रनिङ सिल्ड प्रदान गरिएको थियो । साथै,सो अवसरमा म्युजिकल चेयर खेल प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । खेलमा प्रथम बसन्ता पन्थी, द्वितीय भावना शर्मा र तृतीय गंगा भुर्तेल भएका थिए ।