काठमाडौं,पुँजीबजारमा नीतिगत तथा कानुनी सुधार, बजार नियमन तथा सुपरीवेक्षणका लागि सूचना प्रविधिको विकास, जोखिम व्यवस्थापन र बजार पारदर्शिता अभिवृद्धि गर्ने घोषणासहित नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्ष २०८०÷८१को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा बोर्डले विकासात्मक कार्यक्रम र नियमित कार्यक्रमको रूपमा छुट्याएर आफ्नो कार्ययोजना प्रस्तुत गरेको छ ।
विकास कार्यक्रममा नीतिगत तथा कानुनी व्यवस्था तथा सुधार, बजार नियमन तथा सुपरीवेक्षणसम्बन्धी सूचना प्रविधि प्रणालीको विकास तथा जोखिम व्यवस्थापन, नियमन तथा सुपरीवेक्षण सुदृढीकरण र संस्थागत विकास तथा पहुँच अभिवृद्धि, बजार पारदर्शिता अभिवृद्धि तथा परिपालना अभ्यासमा सुधार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय तथा सम्बन्ध विकास र अध्ययन तथा अनुसन्धान र व्यावसायिकता, लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम समावेश गरेको छ । नियमित कार्यक्रममा धितोपत्र दर्ता तथा निष्काशन, व्यवसायी सेवा सञ्चालन अनुमति तथा विनियमावली स्वीकृति, बजार नियमन तथा सुपरीवेक्षण, अनुसन्धान र कानुन प्रबलीकरण, व्यवस्थापन तथा प्रशासन व्यवस्था तथा सञ्चालन, लगानीकर्ता शिक्षा, प्रशिक्षण, जनचेतना अभिवृद्धि, प्रकाशन र तालिम तथा व्यावसायिकता विकासलगायतका कार्यक्रम समावेश गरेको छ ।
विकासात्मक कार्यक्रममा बोर्डले गैरआवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश गराउन आवश्यक कानुन संशोधन गर्ने विषयलाई यस पटक पनि प्राथमिकतामा राखेको छ । यो कार्यक्रम बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गर्न सुरु गरेदेखि नै कुनै न कुनै रूपमा समावेश हुँदै आएको छ । तर, कार्यान्वयनमा आउन सकेको छैन । बोर्डले हरित बन्डलगायतका वित्तीय औजार निष्काशन गर्न सक्ने गरी नीति, नियम तथा निर्देशिका संशोधन गरिने जनाएकोे छ । यस्तै साना तथा मझौला कम्पनीको धितोपत्र निष्काशन तथा कारोबारसम्बन्धी नियमावली तयार गरी कार्यान्वयनमा ल्याउने, कमोडिटिज बजारलाई कार्यान्वयनमा ल्याउने योजना पनि सार्वजनिक गरेको छ ।
बोर्डको आफ््नै डाटा सेन्टर स्थापना गर्ने, सुपरीवेक्षण कार्यका लागि सफ्टवेर तथा हार्डवेर खरिद तथा विकास गर्ने, बोर्डले गर्ने अनुसन्धानलाई तथ्यांकमा आधारित बनाउन स्टाटिस्टिकल एनलाइसिस सफ्टवेर खरिद गर्ने र धितोपत्रको दोस्रो बजार कारोबारको भुक्तानी सुनिश्चितताका लागि राफसाफ सुनिश्चितता कोष प्रभावकारीरूपमा सञ्चालन गर्न आवश्यक सहजीकरण गर्ने भएको छ ।
बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्ने, सुपरीवेक्षण म्यानुअल तयार गर्ने, जोखिममा आधारित सुपरीवेक्षण ढाँचा लागू गर्ने, भिडियोमा आधारित ग्राहक पहिचान लागू गर्ने, जलविद्युत् कम्पनीहरूको सेयरधनीको लकिङ अवधि र संस्थापक सेयरधनीमा भएको परिवर्तनका सम्बन्धमा आवधिकरूपमा जानकारी प्रवाह गराउने व्यवस्था गर्नेछ ।
धितोपत्र बजारको विकास र विस्तार गर्न, बजार संरचनाको स्वरूपमा परिवर्तन गर्न एवं नयाँ धितोपत्र औजारहरूको सञ्चालनका लागि सहजीकरण गर्न आवश्यक नीतिगत, प्रक्रियागत तथा संस्थागत व्यवस्था गर्ने, सर्ट सेलिङ, इन्ट्रा डे कारोबार, अक्सन मार्केट र सेक्युरिटिज लेन्डिङ र बरोइङको व्यवस्था गर्न र नयाँ औजारहरू इक्विटी डेरिभेटिभ्सलगायत धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी अन्य समसामायिक विषयका सम्बन्धमा विज्ञहरूमार्फत अध्ययन अनुसन्धान गराउने भएको छ ।
बोर्डले सार्वजनिक निष्काशनबाट संकलन भएको रकम सदुपयोग गरे÷नगरेको अध्ययन पनि गर्ने भएकोे छ । धितोपत्र निष्काशनका बखत निष्काशनकर्ता कम्पनीले सार्वजनिक गरेको निष्काशित धितोपत्रबाट संकलित रकम विवरणपत्रमा उल्लेख भएबमोजिम सदुपयोग गरे÷नगरेको सम्बन्धमा सुपरीवेक्षण गरी प्रतिवेदन तयार गर्ने भएको छ ।धितोपत्र बजारमा हुने दैनिक कारोबार, कारोबार रकम, कारोबार हुने कम्पनी, कारोबार भएको धितोपत्र आदिको रियल टाइम निगरानी गर्ने तथा नियमितरूपमा बजार तथा कारोबारको अनुगमन तथा सुपरीवेक्षण गर्ने भएकोे छ ।