काठमाडौं । नेपाल राष्ट्र बैंकले यही साउन सात गते चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेपश्चात लगातार ओरालो लाग्दै आएको सेयर बजार परिसुचक साउन १५ गते अर्थात आज सोमबार पहिलो पटक उकालो लागेको छ ।
अघिल्लो दिन २६ अंकले ओरालो लागेको बजार परिसुचक आज पाँच दशमलव ८४ अंकले उकालो लागेर २१ सय छ दशमलव १८ बिन्दुमा कायम रहन सफल भएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १८ अंकले उकालो लागेर चार सय एक दशमलव ८५ बिन्दुमा कायम रहन सफल भएको छ ।
धितोपत्र बजारमा आज दुई सय ६२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ४० हजार तीन सय तीन पटकको कारोबारमा ५५ लाख ३१ हजार सात सय ३७ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ८५ करोड ८० लाख दुई हजार एक सय ७५ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको कारोबार भएकोमा जलबिद्युत, लघुवित्त र सामुहिक लगानी कोष उपसमुमहको सुचक ओरालो लागेका छन् । यि बाहेकका बाँणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, निर्जीवन बीमा सहितका १० वटा उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।