सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले सार्वजानिक कार्यक्रममा खादा तथा ब्याच प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले खादा र ब्याजका लागि बर्सेनि लाखौँ रकम बाहिरिएको भन्दै सो निर्णय गरेको हो ।
पालिकाले खादा तथा ब्याजको सट्टा स्थानीय उत्पादनलाई जोड दिने निर्णय पनि गरेको छ । यसबाट रोजगारी सिर्जना गर्ने गाउँपालिकाको योजना रहेको गाउँपालिका अध्यक्ष असिम राईले बताए । अतिथि सत्कारका लागि प्रयोग हुने खादाका कारण अत्यधिक बजेट बाहिरिने भएकाले स्थानीय उत्पादन फूलमाला, धजुरा, फुर्का, ढाकाटोपी, सललगायत प्रयोगमा जोड दिइने उनको भनाइ छ । गाउँपालिकाको चालू आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा नै सो कुराको उल्लेख गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । उनले भने, ‘हामीले आफ्नै मौलिक उत्पादनलाई बढावा दिन पनि यो अभ्यास थालेका हौँ, बाहिरबाट आउने खादा रोक्न सकियो भने मात्रै पनि धेरै फजुल खर्च बचत हुन्छ भन्ने हाम्रो मान्यता हो, जसका लागि हामी आफैँले सुरुवात गर्नुको विकल्प छैन ।’