काठमाडौं । सफ्टवेरिका कलेजले आयोजना ‘स्मार्ट टेक्नोलोजी’सम्बन्धी प्रदर्शनी सम्पन्न भएको छ । काठमाडौँको डिल्लीबजारस्थित कलेज परिसरमा जुलाई २७ देखि जुलाई ३० सम्म चारदिने प्रदर्शनी आयोजना गरिएको कलेजले जनाएको छ ।
राजनीतिज्ञ, सेलिब्रेटी, प्रभावशाली व्यक्तित्वलगायत १० हजारभन्दा बढी सर्वसाधारणको उपस्थितिमा सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीले तयार पारेका परियोजनाहरू प्रदर्शन गरेका थिए । कार्यक्रममा ३० भन्दा बढी नवप्रवर्तकहरू सहभागी थिए । प्रदर्शनीको मुख्य आकर्षण रोबोटको लडाकु ‘रोबो वार’ थियो । यस्तै, प्रदर्शनीमा राखिएको ‘भाइपर स्ट्राइक’ले रोबो वार जितेको थियो । ‘काजाडोर’ उपविजेता बनेको थियो । विजेता टोलीले ७५ हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गरेको कलेजले जनाएको छ ।
सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीले तयार पारेका परियोजनाहरू प्रदर्शन गर्न प्रत्येक वर्ष प्रदर्शनी आयोजना गर्ने गरेको कलेजले जनाएको छ । यसपटक ‘आईओटी एक्स्पो’ नामले चिनिने सफ्टवेयर प्रदर्शनीलाई ‘टेक एक्स्पो’ नाम दिइएको थियो ।